काठमाडौं । सरकारले समूहमा पूजा र प्रार्थना नगर्न अपील गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार समूहमा नमाज नपढ्ने र भोज नगर्ने विषयमा मुस्लिम आयोगसँग समेत छलफल भएको थियो ।
मुस्लिम समुदायको सबभन्दा प्रमुख चाड रमजान अप्रिल २३ बाट सुरु हुँदैछ र यो एक महिना लामो हुन्छ । यसमा मुस्लिम धर्मावलम्बीहरु मस्जिदमा गएर समूहमा नमाज पढ्ने र अन्तिममा भोज गर्ने गर्छन् । तर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सकेसम्म घरमा नै बसेर नमाज पढ्न तथा आफ्नो धर्मअनुसारका पूजा गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
मुस्लिम आयोग र मन्त्रालयका अधिकारीहरुबीच भएको छलफलमा नेपालमा रहेका जमातीहरुलाई कोरोना भाइरसको परीक्षण दायरामा ल्याउने सहमति भएको छ ।
साथै उनीहरु बसेको मस्जिद र आसपासका क्षेत्रमा पनि परीक्षण गर्ने र उनीहरुलाई मदरसामा क्वारेन्टाइनमा राखिनेछ । यसका लागि मुस्लिम आयोगले अनुगमन समितिसमेत बनाउनेछ र मस्जिदहरुमा गएर अनुगमन गर्नेछ ।





