कुहिएको चामल बाँडेको आरोपमा कलैया उपमहानगरपालिकाका मेयर पक्राउ


९ बैशाख २०७७, मंगलवार १५:०५ मा प्रकाशित

काठमाडौं । लकडाउनका कारण समस्यामा परेका विपन्नलाई राहतमा गुणस्तरहीन खाद्यवस्तु वितरण गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो उनलाई कलैयाबाट नियन्त्रणमा लिएको हो ।

मेयर रायले राहतका नाममा गुणस्तरहीन चामल, दाललगायतका उपभोग्य वस्तु वितरण गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाराका एसपी कृष्ण पंगेनीले जानकारी दिए । मेयर रायलाई अहिले जिल्ला प्रहरी कार्यालय, कलैयामा राखिएको छ ।

एसपी पंगेनीका अनुसार, उनीमाथि लागेको अभियोगबारे सोधपुछ गर्न नियन्त्रणमा लिइएको हो । ‘मेयरमाथि लागेको अभियोगबारे सोधपुछ गर्न नियन्त्रणमा लिएका छौं । अभियोगबारे अनुसन्धान सकेर थप निर्णय लिन्छौं,’ एसपी पंगेनीले भने ।

कलैया उपमहागरपालिकाका वडा नम्बर २२ मटिअरीया, वडा नम्बर ७ र २० मा चैत २८ गते वितरण गरिएको चामल, दाल कुहिएको भेटिएको थियो । राहत लिएकाहरुले फिर्ता गर्दै वितरण गर्नेलाई कारवाही माग गरेका थिए ।

राहत वितरण कार्यमा संलग्न सातजनालाई यसअघि नै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here