चितवन। चितवनमा दुई जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा शुक्रबार गरिएको पुनः परीक्षणमा दुई जनाकै कोरोना पोजिटिभ देखिएको हो ।
यसअघि शुक्रबार राती भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालाले ती दुई जनाको कोरोना पोजिटिभ भएको नतिजा दिएको थियो । त्यसपछि राती नै पुनः परीक्षणका लागी स्वाब काठमाडौं पठाइएको थियो ।
पूर्वीचितवनको राप्ती नगरपालिकाको ती कोरोना संक्रमित आमा र छोरा रहेका छन् । अहिले उनीहरु भरतपुर अस्पतालमा रहेको आइसोलसन कक्षमा उपचाररत छन् ।
उनीहरुको हिजो (बिहीबार) स्वाब संकलन गरी भरतपुरमा परीक्षण गरिएको थियो । कोरोना संक्रमित दुवै जनाको अवस्था सामान्य रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । बिहीबार भरतपुरमा ३६ जनाको कोरोना परीक्षण हुँदा पहिलो चरणमा ३१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । पाँच जनाको पुनः परीक्षण गर्दा तीन जनाको नेगेटिभ र दुई जनाको पोजिटिभ रिपोर्ट आएको थियो ।
चितवनमा कोरोना संक्रमणको यो पहिलो घट्ना हो । यसअघि चितवनमा कोरोना संक्रमित कोही फेला परेका थिएनन् ।





