दाङ । लकडाउनका कारण दाङका इँटा उद्योगहरु बन्द भएपछि ७ हजारभन्दा बढी भारतीय श्रमिकहरु अलपत्र परेका छ्न ।
दाङमा रहेका झन्डै ३६ वटा इँटा उद्योगमा कार्यरत श्रमिकहरु लकडाउनको समयमा नेपाल–भारत सीमा बन्द भएपछि अलपत्र परेका हुन् । आफूहरुलाई खान बस्न समस्या भएको भन्दै उनीहरुले भारत फर्कने वातावरण मिलाइदिन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।
‘उद्योग बन्द भएपछि हामीलाई खान बस्न समस्या भएको छ । यो अवस्थामा हामी घर फर्कन चाहन्छौँ’, घोराही १० नारायणपुरमा रहेको मनकामना इँट्टा उद्योगमा कार्यरत भारतीय श्रमिक विश्वनाथ चौहानले भन्नुभयो ।
चौहानले आफू घर जान चाहेको भन्दै भारतीय क्वरेन्टीनमा बस्न तयार रहेको बताउनु भयो । अर्का श्रमिक सुनिता चौहानले लामो समयदेखि नियमित काम नहुँदा पारिश्रमिक समेत नपाएको गुनासो गर्नुभयो । साँझ बिहान खानलाई समस्या भएको बताउँदै उनीहरु लकडाउन लम्बिदै जाँदा बढी चिन्तित देखिएका छन् ।
इँटा उद्योगका सञ्चालक रोम वलीले भने ठूलो सङ्ख्यामा रहेका मजदुरहरुलाई पाल्न समस्या भएको बताउनु भयो । उहाँले उनीहरुलाई वातावरण मिलाएर घरसम्म पठाउनुपर्ने बताउनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले इँटा उद्योगमा कार्यरत श्रमिकहरुलाइ घर फर्काउने सवालमा दुई देशबीच कुटनीतिक पहल हुनुपर्ने बताउनु भयो ।