विराटनगर । नेपालसँग सीमा जोडिएका भारतीय राज्यमा कोरोना भाइरसको संक्रमण बढेपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरीको परिचालन बढाइएको छ ।
प्रदेश १ मा सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई सीमा क्षेत्रमा नै केन्द्रित गरेको छ ।यसअघि दशगजा क्षेत्रदेखि १ किलोमिटर टाढा रहेको सशस्त्रको सुरक्षा पोस्ट दशगजा क्षेत्रमा खडा गरिएको छ ।
भारतको विहार र पश्चिम बंगाल राज्यसंग सीमाना जोडिएको प्रदेश १ का जिल्ला इलाम, झापा मोरङ र सुनसरीको सीमाबर्ती क्षेत्रमा जनशतिmलाई केन्द्रित गरेको बाहिनीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) नगेन्द्र थापाले जानकारी दिए ।सीमा क्षेत्रमा नयाँ पोस्ट थपेर सात जनाको दरले ड्युटीको व्यवस्था मिलाइएको छ ।
भारतसँग झापा, मोरङ र सुनसरीको २ सय ७० किलोमिटर र इलामको ५२ किलोमिटिर सीमा क्षेत्र रहेको छ ।यहाँ एक सय ५१ वटा पोष्ट तयार गरी ३ हजार २ सय सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
झापाको सीमा क्षेत्रमा ५८, सुनसरीमा ५१ मोरङमा ३५ र इलाममा एउटा नयाँ पोस्ट थपिएको छ । यसअघि इलाममा एक र अन्य तीन जिल्लामा गरी जम्मा २४ वटा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट रहेको थियो ।
लकडाउनअघि प्रदेश १ को सीमावर्ती क्षेत्रमा दशगजा क्षेत्रदेखि १ किलोमिटर टाढा सशस्त्रको चेकपोस्ट राखिएको थियो । लकडाउनपछि सशस्त्र प्रहरीले दशगजा क्षेत्रमा नै नयाँ चेकपोष्ट तयार गरी सीमा क्षेत्रमा मानिस आवत आवजमा पूर्ण रुपमा कडाइ गरेको जनाएको छ ।
सशस्त्र प्रहरीले दशगजा क्षेत्रमा अहिले चौबिसै घण्टा गाडी, मोटरसाइकल, साइकल र पैदल गस्ती गरिरहेको जनाएको छ । त्यस्तै आकस्मिक चेकजाँच र इन्टिलिजेन्स प्रयोग गरेर बोर्डरलाई सिल गरी मानिसहरुको आवत–जावतलाई पूर्णरुपमा रोकिएको डीआईजी थापाले जानकारी दिए ।





