काठमाडौं । र्यापिड टेष्टमा काभ्रे, धादिङ, सप्तरी र गोरखाका ६ जनामा कोरोना पोजेटिभ देखिएपछि पीसीआर विधिबाट गरिएको परीक्षण रिपोर्ट आज आउने भएको छ ।
र्यापिड टेष्टमा पोजेटिभ देखिएका सबै छ जनानै विदेशबाट नेपाल फर्किएका हुन् । पोजेटिभ देखिएका काभ्रे र सप्तरीका दुई/दुई जना हुन् भने धादिङ र गोरखाका एक/एक जना छन् । काभ्रेको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका एकरएक जनामा र्यापिड डाइग्नोस्टिक परीक्षण गर्दा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको हो ।
बेथान्चौक गाउँपालिका वडा नम्वर ५ का २८ बर्षीय युवा चैत्र ९ गते भारतबाट नेपाल आएका थिए भने मण्डन देउपुर नगरपालिका वडा नम्वर ३ नयाँ गाउँका २३ बर्षीय युवा चैत्र ९ गते दुबईबाट स्वदेश फर्किएका थिए ।
किटमा पोजेटिभ देखिएपछि उनीहरु दुवैलाई धुलिखेल अस्पतालमा भर्ना गरेर मंगलबारबाटै पीसीआर विधिबाट स्वाब परीक्षण थालिएकाले आज पुनःपरीक्षण रिपोर्ट आउने छ ।
यस्तै सप्तरीमा पनि दुई जनामा आरडीटीले कोरोना संक्रमण देखाएपछि मंगलबार नै उनीहरुको स्वाब परीक्षणमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
दिल्लीको निजामुद्दिनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका सप्तरीका आठ जनामध्ये दुई जनामा आरडीटीले कोरोना संक्रमण देखाएको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका प्रमुख चुमनलाल दासले जानकारी दिए । संक्रमण देखिएका दुवै जनालाई अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको उनले जानकारी दिए ।
यस्तै धादिङको ज्वालामुखी गाउँपालिकामा भएको र्यापिड टेष्टमा पनि एक जनामा कोरोना पोजेटिभ देखिएको छ । संक्रमण देखिएका युवा दक्षिण कोरिया बसेर फागुन २० गते घर फर्किएका थिए ।
उनलाई होम क्वारेन्टाइनमा राखिएको थियो । गाउँपालिकाको स्वास्थ्य शाखाले आरडीटी परिक्षण गर्दा २७ वर्षीय युवामा पोजेटिभ देखिएको स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानकारी दिए ।
गोरखाको आरुघाट गाउँपालिकामा पनि एक युवकमा आरडीटीले कोरोना पोजेटिभ देखाएको छ । विदेशबाट फर्किएका २० जनाको आरडिटी गर्दा एक युवकमा कोरोना पोजेटिभ देखिएको हो । ती युवक चैत १ मा बहराइनबाट फर्केका थिए । थप परीक्षणका लागि उनको नमुना पोखरास्थित प्रयोगशालामा पठाइएको छ ।
युवक आइसोलेसनमा रहेको बताइएको छ । उनको पीसीआर परीक्षण रिपोर्ट आजै आउने बताइएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले अनुसार र्यापिड टेष्टमा पोजेटिभ देखिएकै आधारमा आत्तिन पर्ने अवस्था नरहेकाले पीसीआर रिपोर्ट आइन्जेल कुर्न आग्रह गरेका छन् ।





