जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसको संक्रमण देखिएको ठाउँलाई पूर्णरुपमा लकडाउन गरिने बताएका छन् ।
यसका लागि संघीय सरकारका गृहमन्त्रीसहित सरोकारवालासँग कुराकानी भएको उनले बताए । प्रदेश २ को वीरगञ्जमा रहेका तीन भारतीय नागरिकमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यसबारे आफूलाई पनि जानकारी आएको बताउँदै मुख्यमन्त्री राउतले यो क्षेत्रलाई पूर्ण रुपले लकडाउन गरेर संक्रमितको उपचारको व्यवस्था मिलाउन लागिपरेको बताए । ‘बाहिरबाट आएका तीन जना जमातीमा संक्रमण भएको जानकारी पाएलगत्तै गृहमन्त्रीसँग छलफल गरेको छु’ उनले भने, ‘यो क्षेत्रलाई पूर्ण रुपले लकडाउन गरेर अरु कदम चाल्ने विषयमा हाम्रो कुराकानी भएको छ ।”
संक्रमत देखिएका तीनै जना लकडाउनभन्दा पनि पहिला नै भारतबाट आएको जानकारी आफूले पाएको मुख्यमन्त्री राउतले जनाए । ‘उनीहरु लकडाउनको समयमा आएका होइनन् । केही महिनाअघि नै नेपाल आएको जानकारी प्राप्त भएको छ’ उनले भने, ‘अहिले सीमा नाकामा धेरै कडाइ गरिएको अवस्था छ ।”
भारतबाट कोही पनि नआउन् भनेर गाउँका मानिसहरुमा सकारात्मक जागरुकता आइसकेको उनले बताए । ‘गाउँमा नयाँ मान्छे आउनेवित्तिकै स्थानीयले क्वारेन्टाइनमा पठाइदिने काम गरिरहेका छन्’ मुख्यमन्त्री राउतले भने, ‘स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायले समेत यसमा सघाइरहेका छन् ।’





