लकडाउनपछि खाद्य सामग्रीको मुल्य बढ्यो, बजारमा अभाव सिर्जना


२४ चैत्र २०७६, सोमबार १७:२५ मा प्रकाशित

लक्ष्मी उप्रेती
झापा । सरकारले नोवल कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोक्न र फैलिन नदिन घोषणा गरेको लकडाउन पछि झापाको मेचीनगरमा अत्यवश्यक खाद्य सामग्रीको मुल्य बृद्घि भएको छ ।

सोमबार मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य संघले संयुक्त रुपमा नगरको ९ र १० नम्बर वडाका दर्जनबढी खाद्य पसलको छड्के अनुगमन गरेको थियो । अहिले नगरको मुख्यः व्यापारिक केन्द्रविन्दु धुलावारी बजारमा चामल, दाल, चना, मटर, तेल लगायतका खाद्य बस्तुमा मुल्य वृद्धि भएको अनुगमन टोलीले जनाएको छ । त्यस्ता वस्तुको मुल्यमा वृद्धि भए पनि धेरै खाद्य सामग्री अहिले बजारमा पाउन छाडीएको व्यवसायीहरुको भनाई छ ।

व्यवसायीहरुले आफुहरुले महंगो मुल्यमा खरीद गरेका कारण बिक्री गर्दा त्यस्ता बस्तुको मुल्यमा वृद्धि गर्नुपरेको अनुगमन टोली समक्ष प्रतिक्रिया दिएका थिए । उनीहरुका अनुसार लगडाउन पश्चात दालमा प्रतिकेजी ७ देखि १०, चनामा प्रतिकेजी १०, चामलमा १० देखि १२ रुपैयाँ तथा सनफ्लावर तेल प्रति काटन १ सय देखि एकसय ५० रुपैयाँ, चिनीमा प्रति केजी १० रुपैयाँका दरले मुल्य वृसद्ध भएको छ ।

होलसेल विक्रेताले सबै बस्तुमा मुल्य बढाएका कारण खुद्रा विक्रेताले समेत बाँध्य भएर मुल्य बढाउनु परेको व्यवसायीको भनाई छ । ढुवानी तथा लोडअनलोड गर्ने मजदुरको अभाव देखाउँदै होलसेल विक्रेताले सबै बस्तुमा मुल्य बढाएको खुद्रा विक्रेताको भनाई छ ।

लकडाउन अघिसम्म प्रतिकाटन १ हजार ५ सय ४० रुपैयाँ होलसेल मुल्य भएको सनफ्लावर तेल अहिले १ हजार ६ सय ५० देखि १ हजार ६ सय ६० रुपैयाँ पुगेका कारण खुद्रा विक्रेताले १ हजार ७ सय रुपैयाँ प्रतिकाटन बिक्री गर्नुपरेको भनाई छ । बजारमा चिनी, नुन, दाल, तेल आटाको अभाव छ ।

दैनिक २० देखि २५ जनासम्म नुन किन्न आएका ग्राहक नभएकै कारण फर्किने गरेको मेचीनगर ९ स्थित मास भेराइटिज स्टोर्सले जनाएको छ । यसै गरी जानकी किराना पसलमा नुन चिनीको अभाव छ भने मौज्दात चामलले धेरै टिक्ने अवस्था नरहेको जनाएको छ ।

मेचीनगर नगरपालिकाले होलसेल बिक्रेताहरुसँग एक्कासी मुल्य वृद्धिको कारण खोज्ने र आफ्नो मन खुशी मुल्य वृद्धि गर्ने होलसेल व्यवसायीलाई कारवाही गर्ने नगर स्तरीय अनुगमन टोलीका संयोजक एवम् मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले बताइन् ।

उनले खुद्रा व्यवसायीहरुलाई होलसेल व्यवसायीले जारी गरेको बिल विजक सुरक्षित राख्न र नगरपालिकाले आवश्यक परेका बखत माग गरेका बेला उपलब्ध गराउन आग्रह गरेकी छिन् ।

अनुगमन टोलीलमा मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्की, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, उद्योग उपाध्यक्ष कपिल क्षेत्री, महासचिव ध्रुव कनाल सदस्य भूमि पौडेल इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी नायव निरीक्षक राजन खड्कालगायतको सभागिता रहेको नगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here