‘०८२ देखि ८७ सम्मको ५ वर्षलाई स्वर्णिम काल बनाउँछौँ, काँग्रेसले अब देशलाई दुर्घटनामा पर्न दिँदैन’: सभापति थापा


१४ फाल्गुन २०८२, बिहीबार १७:३१ मा प्रकाशित


काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी ५ वर्षलाई नेपालको इतिहासकै ‘स्वर्णिम काल’ बनाउने संकल्प व्यक्त गर्नुभएको छ । सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले काँग्रेसले अबको ५ वर्षमा देशको अवस्था बदल्ने र मुलुकलाई कुनैपनि प्रकारको राजनीतिक वा सामाजिक दुर्घटनामा पर्न नदिने प्रतिवद्धता जनाउनु भयो । मधेसदेखि कर्णालीसम्मको यात्रा गर्दै चुनावी अभियानमा होमिनुभएका थापाले आसन्न निर्वाचन संविधानलाई सही बाटो (ट्रयाक) मा राख्नका लागि अनिवार्य शर्त भएको  बताउनु भयो । 


संविधानको रक्षा र राजनीतिक स्थिरता
सभापति थापाले वर्तमान निर्वाचन संविधान रक्षाको कडी भएको उल्लेख गर्नुभयो । विगतका केही अप्रिय घटनाहरू (भाद्र २३ र २४) लाई स्मरण गर्दै उहाँले देशमा अब सरकारको गोलीबाट कुनैपनि नागरिकको ज्यान जान नहुने र कसैले पनि मुखुण्डो लगाएर सिंहदरबार जलाउन नपाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । 
उहाँले भन्नुभयो, ‘यो निर्वाचन तिनै अतिवादी दृष्टिकोणहरू बीचको लडाईं हो । काँग्रेसले संविधानलाई ट्रयाकमा ल्याउने काममा एक इन्च पनि सम्झौता गर्दैन ।’


२०८२ देखि ८७ सम्मको ‘स्वर्णिम काल’ र ५ वर्षे संकल्प
सभापति थापाले वि.सं. २०८२ देखि २०८७ सम्मको ५ वर्षलाई नेपालको विकासको सबैभन्दा सफल अवधि बनाउने योजना अघि सार्नुभयो । उहाँले काँग्रेसको नेतृत्वमा बन्ने सरकारले नागरिकका आधारभुत आवश्यकतालाई प्राथमिकता दिने बताउनु भयो । कुनैपनि नागरिकले उपचारका लागि खल्तीबाट पैसा तिर्नु नपर्ने र अभिभावकले सन्तानको शिक्षाको बिल तिर्नु नपर्ने अवस्था बनाउने उहाँको भनाइ छ । पढेका युवाहरूले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने, सरकारले हरेक महिनाको पहिलो दिन जनताका सामु उभिएर आफूले गरेका कामको विवरण दिने र आगामी महिनाको लक्ष्य सार्वजनिक गर्ने बताउनु भयो । 


भ्रष्टाचार विरुद्ध निर्मम र सुशासनको प्रतिवद्धता
सभापति थापाले २०४६ साल यताका सबै चर्चित भ्रष्टाचार प्रकरणहरूको छानबिन गर्ने घोषणा गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘काँग्रेसको सरकारले ५ वर्ष काम गर्दा एउटा पनि काण्ड भयो भनेर नागरिकले सुन्नु पर्दैन । यदि कुनै काण्डमा मेरै परिवारको सदस्य संलग्न छ भने पनि ऊ बच्ने छैन ।’
उहाँले राजनीतिमा देखिएको ‘गठबन्धनको फोहोर’ लाई सफा गरेर कांग्रेसले नयाँ ढंगले देश सम्हाल्ने दाबी गर्नुभयो ।


कर्णालीको विकासका लागि ‘ढाँचा’ बदल्नुपर्ने
कर्णाली प्रदेशको विशिष्ट भौगोलिक र आर्थिक अवस्थालाई औँल्याउँदै थापाले काठमाडौं र कर्णालीको विकासको ढाँचा एउटै हुन नसक्ने बताउनु भयो । कर्णालीको ४० प्रतिशत गरिबी र बेरोजगारी हटाउन संविधान र कानूनमै केही बदलाव ल्याउनुपर्ने उहाँको तर्क छ । कर्णालीको आन्तरिक आय न्युन रहेको अवस्थामा केन्द्रबाट जनसंख्याका आधारमा मात्र बजेट पठाएर नहुने भन्दै प्रदेशलाई थप बलियो बनाउनुपर्ने बताउनु भयो । हिमाली क्षेत्रमा हिउँ पर्ने समय र आर्थिक वर्षको तालमेल नमिलेका कारण बजेट फ्रिज हुने गरेको भन्दै बजेट ल्याउने र खर्च गर्ने कानूनी व्यवस्था सच्याउनुपर्ने बताउनु भया । आगामी १० वर्षमा आउने सूचना प्रविधिको युगबाट कर्णालीका युवाले लाभ लिनका लागि अहिले नै आमाको पोषण र बाल्यकालको शिक्षामा लगानी गर्नुपर्ने उहाँको भनाइ छ । 


अतिवाद र ‘भाइरल’ राजनीतिको आलोचना
सभापति थापाले नेकपा एमाले, माओवादी र नयाँ आएका दलहरूको प्रवृत्तिको आलोचना गर्नुभयो । माओवादीले विगतमा हिंसात्मक राजनीति गरेर कर्णालीलाई पीडा दिएको र अहिले नयाँ भनिएका दलहरूले केवल सामाजिक सञ्जालमा ‘भाइरल’ हुनका लागि उत्तेजना र घृणा फैलाएको उहाँको आरोप छ । 
‘देश बनाउन पेटमा आगो र आँखामा सपना मात्र भएर पुग्दैन, सोच्न सक्ने क्षमता, धैर्यता र सुझबुझ पनि चाहिन्छ ।’ उहाँले भन्नुभयो ।


कार्यकर्तालाई निर्देशनः ‘भ्रम चिर्नुस्, घरदैलो पुग्नुस्’
सभापति थापाले पार्टीका कार्यकर्ताहरूलाई सामाजिक सञ्जालको कोलाहल र भ्रमलाई चिर्दै प्रत्येक मतदाताको घरदैलोमा पुग्न निर्देशन दिनुभयो । कर्णालीमा काँग्रेसको शानदार विजयले देशभर नयाँ उत्साह भर्ने विश्वास व्यक्त गर्दै उहाँले फागुन २१ गतेको निर्वाचनमा ‘रुख’ चिन्हमा मतदान गरी काँग्रेसलाई विजयी गराउन अपिल गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here