झापा । विपद् जोखिम न्युनिकरण तथा व्यवस्था ऐन, २०७५ को दफा ३ को उपदफा २ बमोजिम गठित मेचीनगर विपद् व्यवस्थापन समितिमा हिमालय अंग्रेजी एकाडेमी तथा हिमालयन मल्टिपल कलेज धुलावारीले नगद ३० हजार रुपैयाँ प्रदान गरेको छ ।
सोमबार कलेजका अध्यक्ष अनन्तप्रकाश वस्तीले समितिका संयोजक तथा मेचीनगर प्रमुख विमल आचार्यलाई सो रकम हस्तानतरण गरेका हुन् । नोवल कोरोना भाइरस कोभिड १९ बाट बच्न गरिएको लकडाउनमा विपन्नले खाद्यान्नको अभावमा भोकभोकै बस्न नपरोस् भन्ने ध्येयले विभिन्न संघ संस्थाहरुले समितिमा रकम जम्मा गरिरहेका छन् ।
झापाको मेचीनगर नगर स्तरीय विपद् व्यवस्थापन कोषमा शनिबार मात्र मेचीनगरका उद्योगी व्यवसायीहरुको छाता संस्था मेची उद्योग वाणिज्य संघले नगद २ लाख १ हजार रुपैयाँ जम्मा गरेको थियो भने जिल्लाका सहकारी संस्था तथा विभिन्न उद्योगी व्यवसायीहरुले स्वत स्फूत रुपमा रकम जम्मा गर्ने गरेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए ।





