काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थको आधारमा मतदान गर्न मतदातालाई आग्रह गर्नुभएको छ ।
विहीवार काठमाडौंको निर्वाचन क्षेत्र नम्बर दुईको चुनावी अभियानलाई सम्बोधन गर्दै उहाँले फेसबुक, टिकटक र रिल्सजस्ता सामाजिक सञ्जालका सामग्रीको प्रभावमा नपर्न आग्रह गर्नुभएको हो ।
विशेषगरी युवापुस्तालाई लक्षित गर्दै उहाँले सामाजिक सञ्जालका सामग्रीको नभई वास्तविक धरातललाई हेरेर निर्णय लिन आग्रह गर्नुभयो । उहाँले यस पटकको निर्वाचन केवल एक सांसद छान्ने वा सरकार बनाउने प्रक्रिया मात्र नभएको उल्लेख गर्दै देशको भविष्यसँग जोडिएको निर्णायक मोड भएको बताउनु भयो ।
उहाँले हाल देशको अस्तित्व नै संकटमा परेको बताउनु भयो । उहाँले नेपाल प्रथम भन्ने सोचलाई केन्द्रमा राखेर प्रत्येक मतदाताले हजार पटक सोचेर मात्र मतदान गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष लिङदेनले विगतमा असफल भएका र स्पष्ट दृष्टिकोण नभएका दल तथा नेतृत्वलाई पुनः मत दिएर गल्ती दोहोर्याउने कि नगर्ने भन्ने निर्णय मतदाताकै हातमा रहेको बताउनु भयो ।
उहाँका अनुसार देशमा शान्ति, विकास र स्थिरताको लागि राप्रपा नै एकमात्र विकल्प हो । उहाँले राप्रपाले नयाँ र पुराना सबै राजनीतिक शक्तिहरूलाई समन्वय गरेर अघि बढाउन सक्ने दाबी गर्नुभयो ।
नेपालको निर्णायकत्व नेपाली जनताको हातबाट बाहिर जान थालेको उल्लेख गर्नुहुँदै उहाँले त्यसलाई रोक्न आगामी संसदमा राप्रपालाई बलियो शक्तिका रूपमा स्थापित हुनुपर्ने आवश्यकता औँल्याउनु भयो । वैदेशिक हस्तक्षेप र विदेशी चलखेलबारे काठमाडौंवासी सचेत रहेको उहाँको भनाई छ ।
अध्यक्ष लिङदेनले देश जोगाउनका लागि र काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को सहित देशभरको विकासका लागि राप्रपाका उम्मेदवारलाई विजयी गराउन आह्वान गर्नुभयो ।






