शिवसताक्षी वडा नं. १ द्वारा १ सय २५ अति विपन्न परिवारलाई राहत वितरण


२४ चैत्र २०७६, सोमबार १६:४४ मा प्रकाशित

झापा । लकडाउनका कारण हातमुख जोर्न धौधौ परिरहेका १ सय २५ अति विपन्न घर परिवारहरुलाई पहिचान गरि शिवसताक्षी नगरपालिका वडा नम्बर–१ ले पनि आइतबार राहत सामाग्री वितरण गरेको छ ।

शिवसताक्षी नगरपालिकाको १ नम्बर वडामा ज्याला मजदुरी गर्ने मजदुरहरु भोकै बस्न नपरोस् भनि वडावासीहरुको सक्रियतामा आर्थीक तथा खाद्यान्न संकलन गरि हाल १ सय ११ घर परिवारलाई राहत वितरण भइसकेको वडा सदस्य मनकुमार श्रेष्ठले बताए ।

दैनिक मजदुरी गरि जीविकोपार्जन गर्ने आएका १४ घर परिवारलाई यसअघि नै चामल, दाल, तेल, नुन, मास्क, एउटा हात धुने साबुन लगायतका सामग्री सतासीधाम जेसीज, लायन्स क्लब शिवसताक्षी, गोपाल गौरी दिगो विकास प्रतिष्ठानको सक्रियतामा यस अघि नै प्रदान गरेको वडा सदस्य श्रेष्ठले बताए ।

दाताहरुबाट सहयोग प्राप्त भइरहेको र प्राप्त सहयोगलाई ५ जनासम्म भएका घर परिवारलाई १५ के.जी चामल र ६ जनादेखि माथिका घर परिवारलाई २५ के.जी चामल, १ के.जी दाल, आधा लिटर तेल, १ किलोग्राम आयो नुन र एउटा हात धुने साबुन समावेश एक प्याकेजको निर्माण गरि राहत वितरण गरिएको राहत वितरण वडा समिति संयोजक तथा वडा अध्यक्ष सुवास राईले बताए ।

राहत वितरण गर्दा कम्तीमा पनि तीन फिटको शारीरिक दूरी कायम गरी वडाका विभिन्न तीन ठाउँबाट एक पटकमा तीन तीनजनाका दरले उच्च सतर्कता अपनाएर मात्र राहत दिने गरिएको वडा सदस्य नारायणप्रसाद रिजालले बताए ।

वडा अध्यक्षको संयोजकत्वमा गठित राहत लाभग्राही छनौट सिफारिस समितिले लाभग्राहीहरुको संख्या धेरै भएपनि सिफारिस अनिर्णीत हुने हुँदा १ सय ११ घर परिवारको मात्रै नगरमा सिफारिस पठाउन बाध्य भएको र छुटेका लाभग्राहीहरुलाई पुनः सिफारिस पठाउने तयारी भइरहेको छनौट समितिका एक सदस्यले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here