गायिका आस्था राउतविरुद्ध पक्राउ पूर्जी जारी


५ माघ २०७६, आईतवार १५:५८ मा प्रकाशित

काठमाडौं । गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारमा मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ।

प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गराएसँगै प्रशासनबाट पक्राउ पूर्जी जारी गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले जानकारी दिए । काठमाडौं प्रहरी परिसरले आइतवार मुद्दा दर्ता गरेपछि प्रशासनले पूर्जी जारी गरेको हो । यससँगै अब आस्थालाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन प्रहरीलाई बाटो खुलेको छ ।

गत बुधबार झापाको भद्रपुर हुँदै दार्जिलिङ जाने क्रममा त्रिभुवन विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठसँग भएको विवादबारे सामाजिक सञ्जालमा तल्लो तहको अभिव्यक्ति दिएपछि उनीविरुद्ध अभद्र मुद्दा दर्ता भएको हो । महिला प्रहरीमाथि दुर्व्यवहार गरेको अभियोगमा उनीमाथि ‘अभद्र व्यवहार’मा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले पक्राउ पूर्जी जारी भइसकेकाले कारवाही अगाडि बढाइने बताए ।

अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल सजायको व्यवस्था छ । जसको छिनोफानो प्रमुख जिल्ला अधिकारीले गर्न सक्ने अधिकार कानुनले दिएको छ । राउतले बुधबार सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गर्दै भिडियो लाइभ गरेकी थिइन् । विमानस्थलमा खटिएकी प्रहरी जवान रमिता श्रेष्ठले आस्थाविरुद्ध दिएको जाहेरीका अधारमा प्रहरीले कारवाही प्रकृया अघि बढाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here