काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।
बालुवाटारस्थित नयाँ भवनमा बसिरहेको सचिवालय बैठकमा पहिलो पटक दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एकै ठाउँ बसेका छन् । नेकपामा दुवैजना अध्यक्ष समान हैसियतका भए पनि यसअघि पहिलो वरीयताका अध्यक्ष ओली मात्रै अगाडि बस्ने गर्थे । अर्का अध्यक्ष दाहालका लागि ओलीसँगै कुर्सी राख्ने गरिएको थिएन । तर आइतबार बसेको सचिवालय बैठकमा दाहाललाई पनि ओलीसँगै राखिएको हो। दुवै अध्यक्ष सचिवालय बैठकमा सँगै बसेका छन् । उनीहरुका लागि कुर्सी पनि एकै आकार र रंगको व्यवस्था गरिएको छ । यसअघि नेकपाले अध्यक्ष ओलीले सरकारको कमाण्ड र दाहालले पार्टीको कमाण्ड गर्ने गरी निर्णय लिएको थियो । तर ओली उपस्थित हुने बैठकमा दाहालले अन्य नेताहरुसँगै बस्नुपथ्र्यो ।
अब भने दाहालले कार्यकारी अध्यक्षकै हैसियतामा ओलीसँगै बैठकमा बस्ने सुविधा पाएका हुन् । आजको बैठकमा अन्य नेताहरुलाई पहिलेझैँ राखिएको छ । सचिवालय सदस्यहरु झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल दुई अध्यक्षको देब्रेतर्फको लाइनमा बसेका छन् । अर्कातिर माधवकुमार नेपाल र रामबहादुर थापा बादल दाहिनेतर्फको कुर्सीमा बसेका छन् । नेकपा सचिवालयको आजको बैठकमा समसामयिक राजनीतिक विषय र सभामुखका प्रस्तावित उम्मेदवारहरुबारे छलफल भइरहेको छ ।
त्यसैगरी अमेरिकी सहायताको मिलेनियम च्यालेञ्ज कर्पोरेशन्स (एमसीसी) सहायताबारे पनि छलफल हुँदैछ । त्यसैगरि पुस २३ गतेदेखि बस्न लागेको केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे पनि बैठकमा छलफल हुँदैछ । अघिल्लो साता बसेको नेकपाको स्थायी समिति बैठकले एमसीसीबारे छलफल गर्ने अधिकार पार्टी सचिवालयलाई सुम्पेको थियो । एमसिसीलाई लिएर नेकपाका नेताहरु दुई ध्रुवमा विभाजित भएका छन् ।





