बिर्तामोड । धिमाल महिलाहरुलाई सक्षम बनाउने उद्देश्यले बिर्तामोडमा रहेका धिमाल महिलाहरुलाई दुई महिने पेटनी बुन्ने तालिम दिन शुरु गरिएको छ ।
तालिमको उद्घाटन बिर्तामोड नगरपालिका प्रमुख धु्रवकुमार शिवाकोटीले गरेका छन् । बिर्तामोड नगरपालिका वडा नं. १ मा २६ जना धिमाल समुदायका महिलालाई तालिम दिन शुरु गरिएको हो । नारी संकल्प बिर्तामोडको आयोजनामा धिमाल जाति तथा पिछडिएको वर्ग आय तथा सीपमूलक तालिम केन्द्रको अगुवाईमा प्रशिक्षण दिन शुरु गरिएको हो ।
तालिममा सहभागी महिलालाई सीता धिमालले पेटानी बुन्न सिकाइरहेकी छिन् ।

पछिल्लो समय धिमाल महिलाहरुले बाध्ने पेटानी लोप हुँदै गएपछि संस्कार, संस्कृतिको समेत संरक्षणमा सहयोग पुगोस् र आय आर्जनको बाटो बनोस् भन्दै प्रशिक्षण दिन शुरु गरिएको नारी संकल्पकी अध्यक्ष तुलसा मैनाली खरेलले बताइन् ।कार्यक्रमको उद्घाटनमा स्वागत खेमा पराजुलीले गरेकी थिइन् भने बिर्तामोड नगरपालिका वडा नं. १ का वडाध्यक्ष अग्नि पाण्डे, नेकपाका त्रिलोचन प्रसाईं, नेपाली कांग्रेसका नगेन्द्र बस्नेत, राप्रपाका गोविन्द कार्की, समाजसेवी सुरेन्द्र नेपाल, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्की, धिमाल समुदायकी ममता धिमाल लगायतले मन्तव्य राखेका थिए ।
संस्थाकी सहसचिव आशा बानियाँले औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन हिमा प्रसाईंले गरेकी थिइन् । कार्यक्रममा धिमाल जाति विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष गणेशमान धिमालले पेटानी बुन्ने परम्परा धिमाल समुदायमा हराउँदै गएको र जंगलबाट आयात गरिने रंगका प्रकार ल्याउन नदिँदा आफूहरुलाई समस्या भएको बताएका थिए ।





