इलाम । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले ‘झापा स्पोर्टस् अवार्ड’का लागि दाताहरुसँग आर्थिक सम्झौता सुरु गरेको छ ।
यसै क्रममा आगामी तीन वर्षका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र मञ्चबीच आर्थिक सम्झौता नवीकरण भएको छ । नेम्बाङले आफ्ना स्वर्गीय भाइ आशिषविक्रम नेम्बाङको स्मृतिमा पहिलो संस्करणबाटै सहयोग गर्दै आए थिए । झापाको धुलाबारीमा आयोजित एक कार्यक्रमबीच नेम्बाङ र मञ्च झापाका अध्यक्ष हिमाल खरेलबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
मञ्चका अध्यक्ष खरेलका अनुसार अवार्डको चौथो, पाँचौँ र छैटौँ संस्करणका लागि नेम्बाङले एक लाखका दरले तीन लाख रुपैयाँ प्रदान गर्ने सम्झौता भएको हो । सम्झौतापछि नेम्बाङले खेलकुद क्षेत्रको विकासका लागि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘मेरो सानो सहयोगले खेलाडीलाई उत्प्रेरणा मिल्छ भन्ने आशा राखेको छु।’
कार्यक्रममा अध्यक्ष खरेलले मञ्चमार्फत खेलकुद र खेलाडीको उन्नति र हौसला प्रदान गरेको भन्दै नेम्बाङलाई धन्यवाद दिए । खेलकुद क्षेत्रको विकास र विस्तारका लागि मञ्चले विभिन्न ६ विधामा अवार्ड प्रदान गर्दै आएको छ ।





