हिमपातमा बेपत्ता १३ जनाको खोजी गर्न हेलिकोप्टर पठाइँदै


३० मंसिर २०७६, सोमबार १२:३२ मा प्रकाशित

जुम्ला । जडिबुटी खोज्न जाँदा बेपत्ता भएका १३ जनाको खोजी गर्न गृह मन्त्रालयले हेलिकोप्टर पठाउने तयारी गरेको छ ।

उनीहरुको खोजी र उद्दार गर्न सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर परिचालन गर्न लागिएको निमित्त प्रमुख जिल्ला अधिकारी देबेन्द्र श्रेष्ठले जानकारी दिए । तर सुर्खेतको भिजिबिलिटी कम भएका कारण अहिलेसम्म हेलिकोप्टर उड्न सकेको छैन । बाक्लो हुस्सु लागेका कारण अहिले सुर्खेतको वीरेन्द्रनगर क्षेत्र अँध्यारोजस्तै छ । आकाश खुल्नासाथ हेलिकोप्टर उडाइने र बेपत्ता नागरिकको खोजी गरिने निमित्त प्रजिअ श्रेष्ठले जानकारी दिए ।

ठूलो संख्यामा नागरिक बेपत्ता भएपछि आइतबार जिल्ला सुरक्षा समितिको बैठक बसेर उद्दारका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको थियो । बेपत्ताहरुको उद्दारका लागि सबै सुरक्षा संयन्त्र तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय, जुम्लाले जानकारी दिएको छ । हिमपातमा बेपत्ता भएकाको उद्धार गर्न कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले पनि पहल थालेका छन् । जिल्ला समन्वय समितिका प्रमुख र प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले उद्धार गर्न सरकार समक्ष पहल गरिसकेका छन् ।

अहिले जुम्लामा नेपाली सेनाको उद्दार टोली तयारी अवस्थामा छ । सम्पर्कविहीन हुनेमा ९ जना पुरुष र ४ जना महिला रहेका छन् । सम्पर्कविहीन हुनेमा तिला–९ ढिपु गाउँका धनबहादुर बोहोरा, छविराज बोहोरा, जंग रावत, सुमबहादुर बोहोरा, नरवीर बोहोरा, नरबहादुर बोहोरा, तुलु बोहोरा, ननिलाल रावत, सूर्य रावत, कल्पना बोहोरा, लाउरी बोहोरा, रेश्मा बोहोरा र मनमाया बोहोरा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here