खोटाङमा अज्ञात समुहद्वारा सरकारी गाडीमा आगजनी


२३ मंसिर २०७६, सोमबार १०:०३ मा प्रकाशित

खोटाङ । खोटाङको रावाबेंशी गाउँपालिकाको नाममा रहेको १ वटा गाडीमा अज्ञात समुहले आगजनी गरेको छ ।

पार्किङ गरेर राखिएको बा २ झ ३५२४ नम्बरको महिन्द्रा स्कारपियो गाडीमा आगजनी भएको हो । आगजनीबाट गाडीमा पूर्णरुपमा क्षति पुगेको छ । रावाबेंशी गाउँपालिका–५ दुबेकोलमा गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाको घरमा पार्किङ गरेर राखिएको गाडीमा सोमबार राती अन्दाजी १२ः५८ मा आगजनी भएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । रातको समयमा ठूलो आवाज पड्केको सुनेपछि हेर्दा गाडीमा आगजनी भईरहेको उनले बताए ।

गाडीमा आगजनी भएको खबर प्रहरीलाई गरेपछि कुभिण्डेको हरमटार र ऐंसेलुखर्कबाट आएको प्रहरीको टोलीले राती साढे १ बजे आगो नियन्त्रणमा लिएका थिए । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक बामदेव गौतम राती नै घट्नास्थल पुगेर अनुसन्धान सुरु गरेका छन् । प्रहरीका अनुसार आगजनीमा संलग्नको खोजी सुरु गरिएको छ । विप्लव समुहले आगजनी गरेको हुनसक्ने अनुमान गरिएको छ ।

३८ लाखमा खरीद गरिएको गाडी गाउँपालिका अध्यक्षले प्रयोग गर्दै आएका थिए । यस्तै, १५ मंसिरमा दिक्तेल–चखेवाभन्ज्याङ सडकको कालोपत्र काम गरिरहेको गोल्डेन गुड शेर्पा कन्ट्रक्सनको चार वटा स्काभेटर अज्ञात समुहले जलाइदिएका थिए । उनीहरुले एकै रातमा दोर्पाको लप्सेखोला पंखुखोलामा र चखेवाभन्ज्याङमा स्काभेटरमा आगजनी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here