कोहलपुरमा अनिश्चितकालका लागि कर्फ्यू, घाइते चन्दलाई थप उपचारका लागि काठमाडौं लगियो


२२ मंसिर २०७६, आईतवार १९:१७ मा प्रकाशित

नेपालगन्ज । आइतबार विहान कोहलपुरमा ट्रकले किचेर घाइते भएकी छात्रा प्रकृति चन्दलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

गम्भीर घाइते कोहलपुर नगरपालिका–१० की छात्रा  चन्दलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो । अन्य घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनमा उत्रिएका विद्याथीले इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र रहेको क्यान्टिनमा आगजनीसमेत गरेका थिए । झडपमा इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही पनि घाइते भएका छन् ।

स्थिति अनियन्त्रित बन्दै गएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गर्दै कोहलपुरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरेको छ । अवस्था तनावपूर्ण बनेपछि कोहलपुरका उद्योगी व्यवसायीले संयमता अपनाउन अपील गरेका छन् । थप क्षति नहोस् भन्दै संयमता अपनाउन प्रहरी र आन्दोलनकारीलाई अपिल गरिएको कोहलपुरका व्यवसायी देवानन्द अर्यालले जानकारी दिए । आफ्ना बुबासँग मोटरसाइकलमा विद्यालय आएकी छात्रा चन्दलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको थियो ।

विद्यालय प्राङ्गण नजिकै भएको दुर्घटनालगत्तै आक्रोशित बनेका विद्यार्थीले ट्रकमा आगजनी गरेका थिए । स्थिति तनावपूर्ण बन्दै गएपछि दिउसो ३ः०० बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here