उपनिर्वाचन अपडेटः नेकपाले २९ ठाउँमा जित्दा कांग्रेसले १२ सिट हात पार्‍यो


१६ मंसिर २०७६, सोमबार १०:५३ मा प्रकाशित

काठमाडौं । शनिबार सम्पन्न उपनिर्वाचनाको मत गणना अन्तिम चरणमा पुगेको छ । धरान उपमहानगरपालिकाको मेयर र धरानकै वडा नम्बर ७ को वडाध्यक्ष बाहेक अन्य ५० स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

३७ जिल्लाका ५२ रिक्त पदका लागि भएको मतदानको अन्तिम परिणाम सार्वजनिक भइरहँदा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले अग्रस्थान बनाएको छ भने दोस्रो स्थानमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रहेको छ । प्रतिनिधिसभा अन्तर्गतको कास्की क्षेत्रनम्बर २ सहित २९ स्थानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार विजयी भएका छन् । नेकपाले उपचुनावबाट यसअघि हारेका ३ गाउँपालिका थप्दा यसअघि जितेको भक्तपुरको प्रदेशसभामा हार व्यहोरेको छ ।

पछिल्लो मत परिणाम अनुसार धरान उपमहानगरपालिकामा पनि नेकपाका उम्मेदवार हार नजिक रहेका छन् । उक्त क्षेत्र यसअघि नेकपाले जितेको थियो । पछिल्लो मत परिणाम अनुसार प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नम्बर दुईमा भएको उपचुनावमा नेकपाकी उम्मेदवार विद्या भट्टराईले २४ हजार ३ सय मत पाएर विजयी भएकी छिन् । कांग्रेसका उम्मेदवार खेम राज पौडेललाई ८ हजार ४ सय ३ को अन्तरले पराजित गर्दै भट्टराईले जीत हात पारेकी हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार पौडेले १५ हजार ९ सय ९१ मत प्राप्त गरे । दाङ क्षेत्र नम्बर–३ को ख को उपचुनावमा नेकपाले जीत हात पारेको छ । नेकपाकी बिमलाकुमारी खत्री २४ हजार २ सय ८६ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज शर्माले १९ हजार १ सय ८२ मत ल्याए । यसअघि २०७४ सालको चुनावमा उक्त क्षेत्र नेकपाले जितेको थियो ।

प्रदेशसभा अन्तर्गत बागलुङ २ को ‘ख’ मा वाम गठवन्धनका उम्मेदवार विजयी भएका छन् । वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाही ११ हजार २ सय ३५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जीत शेरचनले ९ हजार १ सय ३८ मत पाए । भक्तपुरको प्रदेश १ ख मा नेपाली कांग्रेसले जितको छ । यसअघिको चुनावमा नेकपाले जितेको उक्त क्षेत्रमा कांग्रेसले जीत हात पारेको हो ।

अन्तिम मत परिणामअनुसार कांग्रेस उम्मेदवार कृष्ण भँडेलले १३ हजार ४ सय ४९ मत पाएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद ढकालले ११ हजार २ सय ६ मत पाएका छन् । यस अघि यो क्षेत्र नेकपाले जितेको थियो । उपुचनाव भएका ३ गाउँपालिका अध्यक्ष र १ उपाध्यक्षमध्ये गाउँपालिकाको अध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् भने एक गाउँपालिकाको उपाध्यक्षमा नेकपाले जितेको छ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपाले जीत हात पारेको छ । संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा नेकपाका तेजवहादुर पोखरेल निर्वाचित भएका छन् भने महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका विक्रम चौधरी निर्वाचित भएका छन् । त्यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपाकी रुपा शाही निर्वाचित भएकी छिन् ।

कसकसले जिते ?

पाँचथरको फिदिम नपा–१ मा गजाधर राई, सङ्खुवासभा खाँदवारी नपा–३ भरतकुमार घिमिरे, भोजपुर पौवादुङ गापा–१ मा जितेन्द्र राई, खोटाङ साकेला गापा–३ मा शिवकला राई, सिरहा कल्याणपुर नपा–१२ मा दिलीपकुमार यादव, रामेछाप उमाकुण्ड गापा–५ मा कुलबहादुर बस्नेत, सिन्धुपाल्चोक इन्द्रावती गापा–८ मा केदारनाथ आचार्य, काभ्रे धुलिखेल नपा–२ मा देवप्रसाद कोइराला र काठमाडौँ दक्षिणकाली नपा–३ मा नेकपाका उम्मेदवार शिवभक्ति बलामी विजयी भएका छन् ।

लम्जुङ सुन्दरबजार नपा–२ मा नवीनकुमार श्रेष्ठ, बागलुङ बडिगाड गापा–२ मा ढालप्रसाद शेरचन, नवलपरासी बर्दघाट सुस्तापूर्व बौदीकाली गापा–५ मा खिमबहादुर थापा, रोल्पा थवाङ गापा–१ मा जनकबहादुर बुढामगर, कञ्चनपुर पुनर्वास नपा–३ मा कृष्णबहादुर तामाङ, सल्यान कुमाख गापा–५मा धर्मे बुढाथोकी, बैतडी पुर्चौडी गापा–४ मा शैलेन्द्र धानुक, गुल्मी रुरु क्षेत्र गापा–६ मा शोभाखर खनाल, प्यूठान नपा–२ मा मुक्ति पोखरेल, डोटी आदर्श गापा–२ मा रामबहादुर बोहरा, अछाम मल्लेख गापा–५ रमेशबहादुर खड्का र बाजुरा त्रिवेणी नपा–१ को वडाध्यक्षमा पनि नेकपाकै उम्मेदवार मनराजे बुढा विजयी भएका छन् ।

पाँचथर हिलिहाङ गापा–७ मा तिलविक्रम इधिङ्गो, महोत्तरी बलवा नपा–२ मा विपिन पजियार सुडी, रौतहट गढीमाई नपा–२ मा दीपेन्द्र श्रेष्ठ, चितवन भरतपुर मनपा–१६ मा अमृतराज हमाल, खैरहनी नपा–४ मा देवबहादुर बस्नेत, सोही नपा–५ मा प्रतिमा कार्की, बैतडी दोगडाकेदार गापा–४ मा सुरेन्द्रप्रसाद भट्ट, अर्घाखाँची मालारानी गापा–३ मा शोभाखर खनाल, दाङ घोराही उपनपा–१६ मा ताराबहादुर डिसी र मोरङ धनपालथान गापा–२ मा नेपाली काङ्ग्रेसका वडाध्यक्षका उम्मेदवार नारायणप्रसाद साह निर्वाचित भएक हुन् ।

राजपाका वडाध्यक्षका उम्मेदवार महोत्तरी मटिहानी नपा–६ मा रामबाबु नायक, कपिलवस्तु शिवराज नपा–१० मा मञ्जु मिश्र र सप्तरी छिन्नमस्ता गापा–७ मा प्रमिलादेवी यादव विजयी भए । सर्लाही हरिपुर्वा नपा–१ मा श्यामबाबु राय, बारा बारागढी गापामा सुरेशप्रसाद चौधरी र पर्सा प्रसौनी गापा–५ मा समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवार रुपलालकुमार यादव निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here