झापा । झापाको बिर्तामोडमा रहेको मनमोहन सामुदायिक अस्पतालमा चिकित्सकको लापरवाहीका कारण पाँच महिने शिशुको मृत्यु भएको भन्दै पीडित पक्षहरुले अस्पताल तोडफोड गरेका छन् ।
बिर्तामोड नगरपालिका–१० शैनिक बजार बस्ने बिजय लिम्बुकी ५ महिनाकी छोरी दिप्सा लिम्बुको उपचारको क्रममा चिकित्सकको लापरवाहीबाट मृत्यु भएको भन्दै पीडित आफन्तले अस्पताल तोडफोड गरेका हुन् । तोडफोडका क्रममा ३ वटा झ्यालको शिशामा ढुङ्गाले हान्दा शिशा प्वाल परेको र बाहिर बस्ने बेन्च भाचिएको प्रहरीको भनाई छ । हिजो दिउँसो एक बजे निमोनिया भई ल्याइएको शिशुको उपचारको क्रममा साझ ८ः१० बजे मृत्यु भएको थियो ।
बिरामी दिप्साको थप उपचारको लागि भन्दै हिजो नजिकै रहेको बी एण्ड सी अस्पताल रेफर गरिएको थियो तर बिरामीको रेफर गर्नु अगावै मनमोहन अस्पतालमै मृत्यु भएको पिडीतले बताएका छन् । विवादले उग्र रुप लिएपछि अहिले १ः३० बजेबाट स्थानीय जनप्रतिनिधि, अस्पताल प्रशासन, पीडित पक्षका आफन्त र इलाका प्रहरी कार्यालय अनारमनिबिच भएको छलफलले मृतकको परिवारलाई ५ लाख रुपौँया क्षतीपूर्ती दिने निर्णय गरेको प्रहरीले जानएको छ ।





