झापा । भद्रपुरका गरिब तथा विपन्न घरपरिवारलाई जाडोको न्यानो कपडा वितरण गरिएको छ ।
भद्रपुर नगरपालिका १० नम्बर वडा कार्यालयले मङ्गलबार एक कार्यक्रमका बिच आफ्ना वडा भित्रका अति विपन्न ६० घर परिवारलाई ३ लाख बढीको जाडोको न्यानो कपडा वितरण गरेका हुन् । विभिन्न सहयोगी वित्तीय सङ्घसंस्था तथा सहयोगी हातहरूबाट सङ्कलित रकमबाट वडा कार्यालयले भुईँमै बोरा ओछ्याएर सुत्ने गरेका विपन्न परिवारको पहिचान गरी ६० घरपरिवारलाई सिरक र डसना वितरण गरेका थिए ।
त्यस्तै सोही कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठले आफ्नो छोरा निश्चल प्रकाश श्रेष्ठको जन्मदिनको अवसरमा सोही वडाका विपन्न परिवारका ५० जना वृद्धवृद्धालाई स्वीटर समेत वितरण गरेका थिए । वडा अध्यक्ष टेकबहादुर खड्का (काजी)ले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै जनप्रतिनिधिले फजुल खर्च गर्नुको साटो सामाजिक कार्यमा लाग्नु पर्ने बताए । वडा भित्र रहेका वित्तीय संस्था, विभिन्न व्यक्ति तथा सङ्घसंस्थाहरूको सहयोगमा र वडा कार्यालयको ५० प्रतिशतको अनुदानमा ३ लाख मूल्य बराबरका कपडा वितरण गरिएको उनको भनाई छ ।
प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, जिल्ला समन्वय समिति झापाकी उपाध्यक्ष मिना पराजुली, नेकपा भद्रपुर नगर इन्चार्ज असारु राजवंशी, ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए । वडा अध्यक्ष खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सचिव मोहन डाँगीले गरेका थिए । साथै भद्रपुर १० नम्बर वडा भित्र वसोवास गर्ने विभिन्न जातजाति, भेषभुषा, धर्म संस्कृति, धार्मिक स्थल, पर्यटकीय क्षेत्र लगायतका विभिन्न ऐतिहासिक स्थलहरूको वृत्त चित्रमार्फत प्रस्तुतीकरण गरिएको थियो ।





