चितवन । चितवन मेडिकल कलेजका विद्यार्थीहरुले कलेजमा ताला लगाएका छन् ।
आफुहरुसँग विगतमा भएको सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरुले भरतपुर उपमहानगरपालिका–१३ कैलाशनगरमा रहेको कलेजमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । विद्यार्थीहरुको महिनौंको आन्दोलनपछि गत असोज ४ मा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको रोहवरमा विद्यार्थी, मेडिकल कलेज र अभिभावकबीच त्रिपक्षीय छलफल भएको थियो । छलफलमा कलेजले विद्यार्थीबाट अवैध रुपमा बढी लिएको शुल्क समायोजन वा फिर्ता गर्ने प्रतिवद्धता जनाएको थियो । कात्तिक १८ भित्र अतिरिक्त र अवैधानिक शुल्क फिर्ता वा समायोजन गर्ने कलेज प्रशासन र चिकित्शा शिक्षा संघर्ष समितिबीच भएको थियो ।
समितिका संयोजक प्रकाश चन्दद्वारा हस्ताक्षरित विज्ञप्तीमा विद्यार्थीसँग भएको सहमति कार्यान्वयन नभएसम्म कलेजमा अनिश्चितकालीन ताला लगाइएको जनाइएको छ । उता मेडिकल कलेजले भने कुनै पनि शुल्क फिर्ता नगर्ने जनाएको छ । कलेजले शुल्क समायोजन मात्रै गर्न सकिने प्रष्ट्याएको छ । तोकिएकोभन्दा २० लाख रुपैयाँसम्म बढी शुल्क अवैध रुपमा लिएको दाबीसहित फिर्ता गर्न माग गर्दै विद्यार्थीहरु तीन महिनादेखि आन्दोरनरत छन् ।





