उपनिर्वाचनका लागि कांग्रेसले आज उम्मेदवारको टुंगो लगाउने


१९ कार्तिक २०७६, मंगलवार १२:४० मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको टुंगो लगाउने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लागउने बताइएको छ । यसअघि आइतबार उपनिर्वाचनका लागि उम्मेदवार छान्न बस्ने भनिएको कांग्रेस बैठक स्थगित भएको थियो ।कांग्रेस पदाधिकारीलाई उपनिर्वाचनका उम्मेदवार तय गर्ने जिम्मेवारी दिँदै बैठक स्थगित गरिएको थियो । बैठकमा कांग्रेसका उपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार उपस्थित हुन नसकेपछि बैठक स्थगित गरिएको हो ।

आज पनि एक चरण सम्बन्धित जिल्लाका केन्द्रीय सदस्यसँग पदाधिकारीले छलफल गरेपछि मात्र उम्मेदवारको टुंगो लगाइने नेताहरुले बताएका छन् । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य सहित प्रदेशसभा सदस्य तथा विभिन्न स्थानीय तह गरी जनप्रतिनिधिविहीन ५२ स्थानमा निर्वाचन हुँदैछ । त्यसका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, साझा पार्टी तथा समाजवादी पार्टीले यसअघि नै आफ्ना उम्मेदवार घोषणा गरिकसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here