दुर्लभ कृषि उपज मानिने केशरको खेती इलाममा सुरु


२९ आश्विन २०७६, बुधबार १५:५२ मा प्रकाशित

इलाम । विश्वकै महँगो र दुर्लभ कृषि उपज मानिने केशरको खेती इलाममा सुरु भएको छ ।

इलामको जौबारी मल्टी प्रपोज एग्रिकल्चर एण्ड इन्भाइरोमेन्ट सेन्टरले माईजोगमाई गाउँपालिका–६ को थुम्केडाँडा र जौबारी क्षेत्रमा केशरको खेती सुरु गरेको हो । बैजनी रंगका कोमल पातहरुबीचबाट वर्षमा मुस्किलले १० दिन केशर (अंग्रेजीमा स्याफ्रोन भनिने)को फूल फुल्दछ । फूलको बीच भागबाट निस्कने परागकेशर वा पुंकेशर नै बहुमूल्य केशर हो । अति साना परागकेशर प्रतिकेजी १० हजार अमेरिकी डलरभन्दा बढीमा अन्तर्राष्ट्रिय बजारमा बिक्री हुँदै आएको छ । नेपालमा केशरको व्यवासयिक खेती कम मात्र हुँदै आएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार नेपालको सात देखि १० किलोसम्म मात्रै यसको उत्पादन भएको छ । अन्यौलका बीचमै सुरु गरेको खेतीले प्रतिफल दिन थालेको एग्रिकल्चर एण्ड इन्भाइरोमेन्ट सेन्टरका अध्यक्ष वीरबहादुर कटुबालले बताए । परीक्षणका लागि कास्मिरबाट दुई मन (८० किला) केशरको बिउ ल्याएर थुम्के र जौबारी क्षेत्रमा लगाइएको उनले बताए । केशर खेतीका लागि धेरै गर्मी र धेरै जाडो नहुने हावापानी उपयोगी हुन्छ । केही मात्रामा हिउँ र तुषारो पर्ने ठाउँमा यसको खेती गरिन्छ । १५ सयदेखि २५ सय मिटर उचाइसम्म केशर खेती गर्न सकिन्छ । यसका लागि पानी नजम्ने, बलौटे, दोमट, अलि अलि क्षारयुक्त माटो उपयुक्त हुने यस खेतीबारे जानकारहरु बताउँछन् ।

केशरको प्रयोगले नशा बलियो पार्ने, दुखाइ कम गर्ने, अपचमा उपयोगी, झाडा पखालामा उपयोगी, कलेजोसम्बन्धी रोगमा उपयोगी, मुटुको रोगमा उपयोगी, पिसाब खुलाउने, महिनावारी नियमित गर्ने, प्रसवपछि पाठेघर सफा गर्ने, अनुहार सफा बनाउने गर्छ । एउटा फूलमा दशदेखि १५ मिलिग्राम केशर प्राप्त हुने भएकाले करिब डेढ लाख फूलबाट एक किलो केशर उत्पादन हुने गर्दछ । नेपालमा केशर खेती २०१९ सालमा मकवानपुरको टिष्टुङमा परीक्षण गरिए पनि २०४० सालमा तत्कालीन राजाबाट जुम्लामा केशर खेती गर्न निर्देशन दिएका थिए । २०४४ सालमा जुम्ला, डोल्पामा २०४६ र २०४७ सालमा ललितपुरको गोदाबारीमा केशरको परीक्षण खेती गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here