राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यान्मारको भ्रमणमा जाँदै


२९ आश्विन २०७६, बुधबार १०:४१ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार म्यान्मारको भ्रमणमा जाँदैछिन् ।

राष्ट्रपति भण्डारीले म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा असोज २९ देखि कात्तिक ३ सम्म त्यहाँको राजकीय भ्रमण गर्नेछिन् । राष्ट्रपतिको प्रतिनिधिमण्डल बुधबार बिहान १०ः४० बजे थाइ एयरलायन्सबाट बैंकक हुँदै म्यान्मारको राजधानी नेपित जाने राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीसँग म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु चीले भेट गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी र उनको प्रतिनिधिमण्डलको सम्मानमा म्यान्माली राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।
म्यान्मारमा रहँदा राष्ट्रपति भण्डारीले नेपाली मुलका नागरिकसँग पिन ओ लिनमा भेटघाट गर्नाका साथै युनेस्कोको विश्व सम्पदा बगान र यङ्गोनको भ्रमण गर्ने जनाइएको छ । यङ्गोनमा उनले ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थानको भ्रमण गर्नेछिन् ।

राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहने मन्त्रालयले जनाएको छ । दक्षिण एसियाको नेपाल र दक्षिणपूर्वी एसियामा पर्ने म्यान्मार र दुवै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०का सदस्य हुन् । नेपालसँग म्यान्मारको सम्बन्ध १५० वर्ष पुरानो छ । बौद्धधर्मले दुवै देशलाई अझै निकट बनाएको छ। दुई देशबीच सन् १९६० मार्च १९ (२०१६ चैत ६) राजदूतस्तरमा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here