चाडपर्वको सिजनमा बैंक तथा वित्तीय संस्थामा रेमिट्यान्सको दर बढ्यो


१९ आश्विन २०७६, आईतवार १५:२८ मा प्रकाशित

रुकुम । हिन्दु नेपालीको महान चाड दशैंतिहार नजिकिएसगै बैंक तथा वित्तीय संस्थामा रेमिट्यान्सको दर पनि बढेको छ ।

आन्तरिक तथा बाह्य दुवै प्रकारका रेमिट्यान्समार्फत ठूलो मात्रमा रकम जिल्लामा भित्रिएको छ । जिल्लामा सबै बैंक तथा वित्तीय संस्थामार्फत मासिक दरदर १० करोड बढीको रेमिट्यान्स रकम भित्रिने आकलन गरिएको छ । सहकारी संस्थामा जिल्लाकै सबैभन्दा बढी रेमिट्यान्स कारोबार गर्दै आइरहेको डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्थामार्फत नै मासिक १ करोड बढीको रेमिट्यान्स भित्रिने गरेको छ । सहकारी संस्थाका प्रबन्धक यज्ञ विष्टका अनुसार उक्त रकममा चाडपर्वको समयमा २५ प्रतिशतसम्म वृद्धि हुने गरेको छ ।

‘अन्य समयमा भन्दा स्वभाविक रूपमा चाडपर्वको समयमा बढी रेमिट्यान्स भित्रिने गरेको छ, यसको कारण बिदेशमा रोजगारीको सिलसिलामा रहेकाहरूले दशैंतिहार खर्च अनिवार्य जस्तो पठाउने भएकाले हुनुसक्छ’ उनले भने । सहकारीमा आधा दर्जन बढी देशबाट रकम आउने गरेको छ । जसमा कतार, मलेसिया, दुबई, इरान, ओमन, जापान, कुवेत, अमेरिका र भारतलगायतका देशहरू रहेका छन् । त्यस्तै, एनआइसी एसिया बैंक रुकुम शाखाबाट पनि मासिक सरदर ३५र४० लाख बराबरको रेमिट्यान्स भित्रिने गरेको छ । बैंकमा आउने रेमिट्यान्समा बाह्यभन्दा आन्तरिक रेमिट्यान्सको दर बढी रहेको बैंकका प्रबन्धक सुनिरजंग शाहले जानकारी दिए । रेमिट्यान्स गर्दा एक पटकमा ६० हजारभन्दा कम मात्र गर्न पाइने कानुनी व्यवस्था शुरु भएपछि रेमिट्यान्सभन्दा बैंकमा जम्मा गर्ने संख्या बढेको उनको भनाई छ ।

त्यसैगरी, महालक्ष्मी विकास बैंक रुकुम शाखामा पनि मासिक सरदर १ सय वटा रेमिट्यान्स जिल्लामा आउने गरेका छन् । चाडपर्व शुरु भएसँगै त्यसको दर पनि बढेको छ । अघिल्लो महिना १ सय वटा मात्र भएको रेमिट्यान्स यस महिना डेढ सय वटा बढी भएको बैंकका प्रबन्धक हरि शर्माले जानकारी दिए । ‘हाम्रो बैंकमार्फत महिनामा करिब ५० लाखको हाराहारीमा रेमिट्यान्स भित्रिने गरेको छ, अघिल्लो महिना ४२ लाख भित्रिएको छ’ प्रबन्धक शर्माले भने, ‘चाडपर्वको समयमा रेमिट्यान्स दर बढ्ने गरेको छ, यो महिना करिब ६३ लाख रकम भित्रिसकेको छ, अझै केहि रकम बढ्न सक्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here