कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाण्डौ जिल्ला अदालतको अनुमति


१९ आश्विन २०७६, आईतवार १६:५० मा प्रकाशित

काठमाण्डौ । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाण्डौ जिल्ला अदालतले अनुमति दिएको छ ।

रोशनी शाहीले शुक्रबार राति नयाँ बानेश्वर प्रहरी वृत्तमा बलात्कारको प्रयास गरेको आरोप लगाउँदै निवर्तमान सभामुख महराविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर अदालतको अनुमतिविना पक्राउ गर्न नमिल्ने कानुनी व्यवस्थाका कारण प्रहरीले शनिबार सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा पक्राउ अनुमति मागेको थियो ।

आज काठमाण्डौ जिल्ला अदालतका न्यायाधीस ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको हो । अदालतको अनुमतिअनुसार अब आफूहरुले महरालाई पक्राउ गर्ने महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सहकुल थापाले उज्यालोलाई जानकारी दिए । ‘महानगरीय प्रहरी परिसर या सम्बन्धीत वृत्तले महरालाई आजै पक्रन बाटो खुलेको छ’, थापाले भने ।

गएको आइतबार राति कृष्णबहादुर महराले आफूलाई बलात्कारको प्रयास गरेको भन्दै प्रहरीलाई फोन गरेकी शाहीले २ दिनपछि भने बयान फेरेकी थिइन् । उनले आफूलाई महराले केही नगरेको र बाबुछोरीको जस्तै सम्बन्ध रहेको बताएकी थिइन् । तर महरा शाहीको कोठामा गएको र जबर्जस्ती गरेका कैयौँ प्रमाण भेटिएपछि रोशनीलाई महराविरुद्ध उजुरी दिन चौतर्फी दबाब परेको थियो । बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here