कपिलवस्तु । प्रथम कपिलवस्तु श्री राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको उपाधि झापाका ललित धिमालले चुमेका छन् ।
बुद्धस्थल तिलौराकोटमा शनिबार राती सम्पन्न प्रतियोगितामा ३२ वर्षे धिमालले विभिन्न ६ तौल समूहमा प्रथम भएकालाई उछिन्दै उपाधि जितेका हुन् । उपाधिसँगै २ लाख नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । उनलाई नगद पुरस्कार र ट्रफी र प्रमाणपत्र कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले प्रदान गरे । उनी ७५ केजी प्लस तौल समूहमा प्रथम भएका थिए । यस अघि उनले दोस्रो नेपाल च्याम्पियनसिप ०७५ को उपाधि पनि चुमेका थिए । ५५ केजी तौल समूहमा सुरेन्द्र प्रसाद बर्मा कपिलवस्तु, सुमित आले रुपन्देही र चुमनसिंह केसी बाके, क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।
बर्मालाई कपिलवस्तु नगरपालिका मेयर किरण सिंहले पुरस्कार जितेर जिल्लाको नाम राखेकाले थप २५ हजार पुरस्कार दिने घोषणा गरे । त्यस्तै ६० केजी तौल समूहमा विकास तामाङ कास्की, मानबहादुर राना रुपन्देही र सुरेश थापा बाके क्रमशः प्रथम, द्वितीय र तृतीय भए । ६५ केजी तौल समूहमा सुमन लिम्बु झापा, विजेन्द्रमान श्रेष्ठ रुपन्देही र विकास चौधरी रुपन्देही क्रमशः प्रथम, द्वितीय र तृतीय भए । ७० केजी तौल समूहमा रुपन्देहीका विनोद सुनार, काठमाडौंका पुष्प शंकर र रूपन्देहीका गोवर्द्धन श्रेष्ठ क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।
७५ केजी तौल समूहमा रुपन्देहीका अनीश थापा, रूपन्देहीकै चन्द्रमान श्रेष्ठ र दाङका सुनिल दहित क्रमशः प्रथम, द्वितीय र तृतीय भए । ७५ केजी प्लस तौल समूहमा झापाका ललित धिमाल, रुपन्देही कुशल प्रसाद गुरुङ र रूपन्देहीकै सागर खत्री क्रमशः प्रथम, द्वितीय र तृतीय भए । ६ वटै तौल समूहमा ५र५ जना फाइनल राउण्डमा प्रस्तुति दिएका थिए । ६ वटै समूहमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार ५ हजार नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा नेपाल शरिरीक सुगठन तथा फिटनेस सङ्घ जिल्ला शाखाको आयोजनामा भएको थियो । दोस्रो कपिलवस्तु श्री राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता २०७८ मा गरिने घोषणा गरियो ।





