पाकिस्तान । पाकिस्तानमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २८ पुगेको प्रहरीले बताएको छ ।
भूकम्पका कारण कम्तीमा ४ सय ७६ व्यक्ति घाइते भएका सरकारी र स्थानीय सञ्चार माध्यमले बुधबार बिहान जनाएको छ । पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो । मंगलबार अपराह्नमा गएको यस भूकम्पको कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युतका पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको बताइएको छ ।
पूर्वी पाकिस्तान र भारतमा समेत झड्का महसुस भएको थियो । भूकम्प ५.८ रेक्टर स्केलको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) विभागले जनाएको छ । यद्यपि भारतीय सञ्चार माध्यमले ६.३ रेक्टर स्केलको भूकम्प गएको दाबी गरेका थिए ।





