काठमाडौं । ह्याकरको समूहले कृषि विकास बैंकबाट ५ अर्ब रुपैयाँ चोर्ने योजना विफल भएको छ ।
नेपाली बैंकबाट करिब ५ अर्ब रुपैयाँ चोर्ने गरी बनाएको योजना प्रहरीले समयमै थाहा पाएर विफल पारिदिएको हो । ह्याकरको समूहले भारतमा बसेर नेपालका व्यक्तिलाई सम्पर्क गरी विभिन्न बैंकबाट रकम चोरी गर्ने योजना बनाएको प्रारम्भीक अनुसन्धानले देखाएको छ । महानगररीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कृषि विकास बैंकबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ चोरि भइसकेको जानकारी दिए ।
कृषि विकास बैंकबाट चोरिएको १२ लाख रुपैयाँ नयाँ बानेश्वरस्थित पानस रेमिटबाट निकालेको अवस्थामा प्रहरीले बरामद गरेको छ । यो प्रकरणमा कृषि विकास बैंकमा हयाक गर्न सघाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बुधबार महानगरीय प्रहरी अपराध महाशाखामा पत्रकार सम्मलेन गरेर प्रहरीले पक्राउ परेकालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, सञ्जय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवण कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, शुबन्कर पन्जा, विजय साह र चन्द्र बहादुर बुढा रहेका छन् । जसमध्ये चारजनालाई प्रहरीले सार्वपजनिक गरेको छ । रकम लुट्नेहरुले १५ देखि ३५ प्रतिशतसम्म रकम कमिसन दिई हुण्डीमार्फत् भारत पठाउने गरेको एसएसपी थापाले बताए ।