काठमाडौं । पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन–२०७६) सोमबारदेखि जारी भएको छ ।
सोमबार प्रेस काउन्सिल नेपालमा भएको एक कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले संयुक्तरुपमा हस्ताक्षर गरी पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन–२०७६) जारी भएको घोषणा गरेका हुन् । सञ्चार क्षेत्रको नयाँ परिवेश अनुरुप आचारसंहितालाई समसामयिक बनाई समग्र मिडिया क्षेत्रलाई मर्यादित, जवाफदेही र जिम्मेवार बनाउने उद्धेश्यअनुरुप सरोकारवाला संघ, संगठन पत्रकारहरुसंग चरण चरणको छलफल, अन्तक्र्रिया र प्राप्त रायसुझावलाई समावेश गरी संशोधित आचारसंहिता जारी गरिएको बताइएको छ ।
सो अवसरमा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठले पछिल्लो समयमा प्रविधिमा भएको तिब्रत्तर विकासका कारण आचारसंहिता परिमार्जन गर्नुपरेको बताए । उनले पत्रकारहरुकै कमीकमजोरीको कारण धेरै प्रकारका कानुन बनेको बताउँदै सबै सञ्चारकर्मी मर्यादित बन्न जरुरी रहेको उल्लेख गरे । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले हाल संशोधन गरेर जारी भएको आचारसंहिता पत्रकार तथा सञ्चार माध्यमहरुले पालना गरे आगामी दिनमा बन्ने प्रेस सम्बन्धी कानून नरम बन्नसक्ने बताए ।





