अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको सुशासन र आर्थिक संरचना सुधारका लागि ठूलो परिवर्तन गर्ने लक्ष्यका साथ आफूहरू अगाडि बढेको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा उहाँले विगतमा जस्तो नीतिगत तहमा हुने ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्नेगरी सरकार अघि बढेको बताउनु भयो । पुराना अभ्यासहरूबाट फाइदा लिइरहेकाहरू अहिले अत्तालिएर भ्रम फैलाउन लागेको उल्लेख गर्दै उहाँले त्यसलाई ‘अन्तिम छटपटी’ को बताउनु भयो ।
डा. वाग्लेले अबको अर्थतन्त्र ‘लेभल प्लेइङ्ग फिल्ड’ र प्रतिष्पर्धामा आधारित हुने बताउँदै त्यो छटपटी धेरै नटिक्ने पनि बताउनु भयो । उहाँकाअनुसार अब नियामक निकायहरूमा स्वच्छ, सफा र सक्षम मान्छेहरू आउँछन् । राजनीतिक संयन्त्र, आर्थिक संरचना र नियामक निकायहरू कुनै व्यक्ति विशेष वा भ्रष्ट राजनीतिज्ञको कब्जामा रहने दिन अब सकिएका छन् ।
उहाँले अब विचार र प्रतिभा भएका मानिसहरू लाइसेन्स लिनका लागि शक्ति केन्द्रको पछि दौडनु पर्ने अवस्थाको अन्त्य हुने दाबी गर्नुभयो । उहाँकाअनुसार अबको निजी क्षेत्र आफ्नो पुँजी र क्षमताको जगमा नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धी बन्न सक्नेछ । उहाँकाअनुसार सुशासनलाई नागरिकको घरदैलोसम्म पु¥याउन ‘माइक्रो डेलिभरी‘ मा जोड बजेटमार्फत दिइएको छ ।
नागरिक एपजस्ता डिजिटल माध्यमबाट सरकारी सेवाहरू प्रवाह गर्दा विचौलियाको अन्त्य हुने र भ्रष्टाचार न्यूनीकरण हुनछ । सरकारी कार्यालय धाउन नपर्ने र कर्मचारी वा विचौलियालाई अतिरिक्त पैसा खुवाउन नपर्ने गरी हामीले नागरिक एपमा सयौँ सेवाहरू आबद्ध गर्ने तयारी भइरहेको उहाँल बताउनु भयो ।
मन्त्री वाग्लेले मुलुकलाई आगामी बजेट उद्यममैत्री रहेको समेत बताउनु भयो । सुशासनलाई केवल नारामा मात्र सिमित नराखी यसलाई एउटा संस्थागत संस्कृतिका रूपमा विकास गरिने प्रतिबद्धता समेत उहाँले बताउनु भयो ।






