काठमाडौं । नेकपा एमाले सांसद पुष्पराज कँडेलले विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफूले गरेका त्रुटिको बचाउ गर्न नमिल्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै कँडेलले अर्थमन्त्रीले बारम्बार अघिल्ला सरकार र अर्थमन्त्रीहरूलाई दोषारोपण गर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सुशासन र सुधारको एजेण्डा लिएर आएको सरकारले विगतका कमजोरी दोहो¥याउन नहुने बताउनु भयो ।
उहाँकाअनुसार अघिल्ला सरकारले गल्ती गरेका थिए भने त्यसको समीक्षा हुनुपर्छ । तर विगतमा त्रुटि भएको थियो भन्दैमा वर्तमान सरकारले पनि त्यही गल्ती दोहोर्याउने छुट पाउँदैन । कँडेलले अर्थमन्त्री स्वयं पनि विगतमा राष्ट्रिय योजना आयोगलगायत नीतिगत निकायमा जिम्मेवारी सम्हालिसकेका व्यक्ति भएकाले अघिल्ला सबै निर्णय र प्रक्रियाबाट आफूलाई पूर्ण रूपमा अलग देखाउन नमिल्ने बताउनु भयो ।
समितिको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा प्राविधिक त्रुटी देखिएकाले सच्चाइउनुपरेको र यसलाई विपक्षीले ठूलो इस्यु बनाएको भन्दै आक्रोश पोख्नुभएको थियो । बैठकमा कडेँलले मूल्य अभिवृद्धि कर प्रणालीबारे पनि प्रश्न उठाउनु भयो । नेपालको कर प्रशासनले विगतदेखि बहु–दर भ्याट प्रणालीलाई अस्वीकार गर्दै आएको स्मरण गराउँदै उहाँले अहिले बहुदर भ्याट प्रणालीतर्फ जाने विषयमा पर्याप्त अध्ययन, बहस र तयारी भएको हो वा होइन भन्ने प्रश्न गर्नुभयो ।
उहाँकाअनुसार १३ प्रतिशतको एकल भ्याट दरका विकल्पका रूपमा केही वस्तु तथा सेवामा न्युन दर लागू गर्ने र विलासिताका वस्तुमा फरक दर निर्धारण गर्ने विषयमा विगतदेखि बहस हुँदै आएको भएपनि त्यससम्बन्धी नीतिगत परिवर्तन गर्दा स्पष्ट आधार र औचित्य प्रश्तुत गरिनुपर्छ ।
कँडेलले कर नीतिमा स्थायित्व, पूर्वानुमानयोग्यता र स्पष्टता कायम गर्न सरकार गम्भीर हुनुपर्ने आवश्यकता औंल्याउँदै कुनैपनि कर सुधार व्यापक अध्ययन र सरोकारवालासँगको परामर्शपछि मात्र कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।






