काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरुले दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन ।
सोमवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद विष्णुबहादुर विश्वकर्माले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग समेत गर्नुभयो । उहाँले सरकारी कर्मचारीलाई सरकारले करिव ३ दिनसम्म बेरोजगार राखेर मुलुकमा बेथिति निम्त्याउन खोजेको जिकिर गर्दै सो निर्णय फिर्ता लिनैपर्ने बताउनु भयो ।
उहाँले विद्यार्थीहरुको पठनपाठनमा पनि सो निर्णयले असर गर्ने भन्दै आपत्ति जनाउनु भयो । सांसद सावित्री मल्लले खाने पकाउने ग्याससहित पेट्रोललगायतका इन्धनमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकारलाई दबाब दिनुभयो । उहाँले बजारमा महंगी र दैनिक उपभोग्य बस्तुको समेत अभाव भएकाले त्यसलाई सहज र सुलभ बनाउने काममा पनि सरकारले तत्काल आवश्यक निर्णय लिनुपर्ने बताउनु भयो ।
सांसद मल्लले सरकारले मूल्य वृद्धि नियन्त्रण गरेर आम उपभोक्तालाई मारबाट पार लगाउनुपर्ने बताउनु भयो ।






