‘दिव्य कञ्चन समूह’ पुनर्गठन, अध्यक्षमा प्रसाई


२२ चैत्र २०८२, आईतवार २१:११ मा प्रकाशित

बिर्तामोड । कला, साहित्य र संगीत क्षेत्रमा युवाहरूको सक्रिय सहभागिता विस्तार गर्ने उद्देश्यसहित ‘दिव्य कञ्चन समूह’ पुनर्गठन गरिएको छ। युवा सञ्चारकर्मी तथा स्रष्टा भरत प्रसाईको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गर्दै संस्थाले पुनः सक्रिय यात्रा सुरु गरेको हो। विसं २०८१ भदौ १० गते स्थापना भएको समूह केही समय निष्क्रिय बनेको थियो। 

अहिले भने फराकिलो अवधारणा, स्पष्ट जिम्मेवारी र नयाँ ऊर्जा सहित पुनर्गठन गर्दै अगाडि बढाइएको छ। लिङ्कन मन्टेश्वरी विद्यालयमा आयोजित विशेष कार्यक्रममा नयाँ नेतृत्व सार्वजनिक गरिएको हो।

नयाँ कार्यसमितिमा विभिन्न विधामा सक्रिय युवाहरूलाई समेटिएको छ। उपाध्यक्षमा रन्जिता खड्का र पवन ढकाल चयन भएका छन् भने महासचिव सुस्मिता बर्तौला, सचिव, जिना अधिकारी र सह–सचिव सन्ध्या खनाल रहेका छन्। कोषाध्यक्षको जिम्मेवारी गगन भट्टराईले सम्हाल्ने भएका छन्।

प्रेस संयोजकका रूपमा देव बास्कोटा चयन हुँदा संगीत र कला विभागको नेतृत्व क्रमशः निरज पोखरेल र सृष्टि आचार्यलाई दिइएको छ। अन्य सदस्यहरूमा विवेक खरेल, सञ्जय शिवाकोटी, प्रतीक्षा पौडेल र कविता अधिकारी   रहेका छन्।

भेलाले  अग्रज संगीतकार प्रा. हरि पौडेलको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समिति  गठन गरिएको छ। जसमा पत्रकार सरोज पौडेल, दाताराम आचार्य, सन्तोष न्यौपाने, तुलसीप्रसाद निरौला र उद्धव पुरीलाई समेटिएको छ।

अध्यक्ष प्रसाईले युवामा देखिएको बढ्दो निराशालाई चिर्न र उनीहरूभित्रको सिर्जनात्मक क्षमता उजागर गर्न संस्थाले डिजिटल माध्यमलाई प्राथमिकता दिने बताए। अध्यक्ष प्रसाईले सबै पदाधिकारीलाई आफ्नो जिम्मेवारीप्रति इमान्दार र सक्रिय हुन आग्रह गर्दै कला, भाषा र साहित्यको संरक्षण र प्रवर्द्धनमा संस्था प्रतिबद्ध रहने बताए   । 

डिजिटल प्लेटफर्ममार्फत प्रतिभा सार्वजनिक गर्दै रोजगारी सिर्जना गर्नु र सामाजिक उत्तरदायित्व निर्वाह गर्नु संस्थाको मुख्य लक्ष्य रहेको उनले उल्लेख गरे। कार्यक्रमका प्रमुख अतिथि हरि पौडेलले युवालाई सिर्जनासँग जोड्ने प्रयास सकारात्मक रहेको बताउँदै यसको सफल कार्यान्वयनमा विश्वास व्यक्त गरे।

पत्रकार तथा  सल्लाहकार सरोज पौडेलले संस्था स्थापना मात्र होइन, यसको निरन्तरता र उपलब्धि महत्वपूर्ण हुने धारणा राखे। पत्रकार  तथा सल्लाहकार  निरौलाले धेरै संस्था दिगो बन्न नसकेको सन्दर्भ उल्लेख गर्दै यो समूहले उदाहरणीय काम गर्ने अपेक्षा व्यक्त गरे।आगामी दिनमा विभिन्न विधाका प्रतिभालाई समेट्ने कार्यक्रम सञ्चालन गरिने संगीत विभाग प्रमुख निरज पोखरेलले जानकारी दिए। कार्यक्रमको सञ्चालन सहसचिव सन्ध्या खनालले गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here