सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि


१८ चैत्र २०८२, बुधबार १६:३७ मा प्रकाशित


प्रतिनिधि सभाको सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने भएको छ । 


बुधवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले चैत २० गते उम्मेदवारी मनोनयन गर्ने र २२ गते निर्वाचन गर्ने कार्यतालिकामा सहमति जुटाएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सदनको पहिलो बैठकको कार्यसूचि र सञ्चालन प्रक्रियाबारे दलहरूबीच समझदारी बनेको जानकारी दिनुभयो । उहाँकाअनुसार प्रतिनिधि सभाको बिहीवारको पहिलो बैठकमा सभामुखको निर्वाचनसम्बन्धी प्रश्ताव पेश हुनेछ ।

बैठकले नयाँ नियमावली नबन्दासम्म हालकै संसद नियमावलीका आधारमा बैठक सञ्चालन गर्ने र पहिलो बैठकबाटै नियमावली प्रतिस्थापनको प्रक्रिया अघि बढाउने निर्णय गरेको पनि उहाँले बताउनु भयो ।

साथै हाउसको पहिलो बैठकमा बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको चयन प्रक्रिया शुरु गरिनुका साथै शिर्ष नेताहरूले शुभकामना दिने कार्यसूचीमा सहमति जुटेको बुर्लाकोटीको भनाइ छ । 

सभाको पहिलो बैठकमा गत भदौ अन्तिम साताको जेन—जी आन्दोलनका शहीदहरुप्रति श्रज्ञाञ्जली व्यक्त गर्ने कार्यसूची पनि रहेको छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीकी संसदीय दलकी प्रमुख सचेत खुश्बु ओलीले संसदको नियमावली संशोधन गर्नेबारे सबै दलहरु सकारात्मक रहेको बताउनु भयो । उहाँले कार्यव्यवस्था परामर्श समितिमा सबै दलहरुको समान सहभागिता रहनुपर्ने आफ्नो पार्टीको धारणा रहेको पनि बताउनु भयो । 


उहाँले संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी समन्वय र सहकार्यसहित प्रभावकारी उपस्थिति जनाउने बताउनु भयो । –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here