उपभोगमुखी बजेटले रोजगारी सिर्जना गर्दैन, बोलेर मात्र आर्थिक रूपान्तरण हुँदैनः पूर्वअर्थमन्त्री खतिवडा


१९ जेष्ठ २०८३, मंगलवार १२:२३ मा प्रकाशित


पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले उपभोगमुखी बजेटले रोजगारी सिर्जना गर्न नसक्ने बताउनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले सरकारले ल्याएको बजेट उपभोगमुखी रहेको बताउनु भयो ।

उहाँले सरकारले आगामी बजेटमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको र तर त्यो प्राप्त गर्न कम्तीमा २२ देखि २४ प्रतिशतले आयात बढ्नुपर्ने बताउनु भयो । बल्ल मात्रै तरलतामा सन्तुलन ल्याउन सक्ने उहाँको बुझाइ छ । उहाँले सरकारले १०–२० वर्षसम्म करका दर परिवर्तन नगर्ने आश्वासन दिए पनि व्यवहारमा त्यस्तो नदेखिएको बताउनु भयो ।

खतिवडाकाअनुसार उद्यमशीलतालाई प्रोत्साहन गर्ने नै हो भने कर्पोरेट करको दर २५ र २० प्रतिशत लाई किन २० र १५ प्रतिशतमा झारिएन ? उपभोगसँग सम्बन्धित करहरू समायोजन गर्ने तर उत्पादन बढाउने करमा सुधार नगर्ने कस्तो नीति हो ? भन्दै उहाँले सरकारलाई प्रतिप्रश्न गर्नुभएको छ ।

उहाँले व्यक्तिगत आयकरको माथिल्लो सीमा ३९ प्रतिशतबाट २९ प्रतिशतमा झार्नुले फेरि पनि उपभोगमा आधारित आर्थिक वृद्धिलाई नै प्रश्रय दिएको बताउनु भयो । साना, मझौला तथा घरेलु उद्योगको विस्तार बिना कृषिबाट औद्योगिक क्षेत्रमा आर्थिक रूपान्तरण असम्भव रहेको खतिवडाले बताउनु भयो ।

बजेटले एसएमई क्षेत्रका लागि पुँजी परिचालन, प्रविधि र बजार संरक्षणका बारेमा कुनै ठोस योजना नल्याएको उहाँको आरोप छ । खतिवडाले व्यवसायीहरूको आत्मविश्वास जगाउन र लगानीको वातावरण बनाउन करका दरहरूमा रणनीतिक परिवर्तन आवश्यक रहेकोमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here