पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकामा भत्काइएको सुकुम्बासी बस्तीका पीडितहरूसँग भेट गरी उनीहरूको पछिल्लो अवस्था र समस्याबारे जानकारी लिनुभएको छ ।
भेटका क्रममा विस्थापित परिवारले राज्यका विभिन्न निकायबाट आफूहरूले भोग्नुपरेको सास्ती र प्रशासनिक उदासीनताबारे गुनासो पोखेका छन् । पीडितहरूले हालैको वर्षा र बाढीका कारण आफ्नो उठिबास भएको र बस्ने–खाने कुनै ठेगान नभएको बताएका छन् ।
बाढीले घरभित्रका सामान निकाल्न समेत नपाएको र विद्युतका मिटरहरू डुबेर लाइन काटिएपछि थप अन्धकारमा बस्नुपरेको उनीहरूको भनाइ छ । यस्तो विषम परिस्थितिमा पनि सम्बन्धित निकायले समस्या समाधान गर्नुको साटो ‘कालोसूचीमा राख्ने’ वा ’सामान सिज गरिदिने’ जस्ता धम्कीपूर्ण कुरा गरेर मानसिक तनाव दिएको उनीहरूले उल्लेख गरे ।
भेटघाटका क्रममा डा. भट्टराईसहितको टोलीले पीडितहरूलाई सहानुभूति प्रकट गर्दै उनीहरूको समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएको छ । सो क्रममा विस्थापितहरूको उचित व्यवस्थापनका लागि नाम दर्ता गराउन र कानूनी प्रक्रियामार्फत अघि बढ्न सुझाव दिइएको थियो ।
बस्ती भत्काइएपछि खुला आकाशमुनि बस्न बाध्य भएका ती परिवारले हाल खाद्यान्न र सुरक्षित आवासको तत्काल व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् ।






