काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
मतदान सम्पन्न भएलगत्तै मतपेटिका सङ्कलन गरी गणना कार्यलाई द्रुत गतिमा अघि बढाउने योजना आयोगले बनाएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले यसपटक परिणाम आउन समय नलाग्ने बताउनुभएको हो । मतपरिणामको समयसीमाबारे स्पष्ट पार्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले समानुपातिकको एक–दुई दिन लागे पनि प्रत्यक्षतर्फको परिणाम मतपेटिका संकलन भएको २४ घण्टा भित्र घोषणा गर्ने गरी आयोगले तयारी गरेको बताउनु भयो ।
उहाँले उपत्यका बाहिर मतपत्र पठाउने काम सकिएको तथा काठमाडौं, ललितपुर र भक्तपुरका केही स्थानमा मंगलवार सांझ सम्म पु¥याइसक्ने गरी काम भएको जानकारी दिनुभयो । मतदान अधिकृतहरुको तालिम मंगलवार साँझसम्म सम्पन्न हुने र त्यसपछि आवश्यक सामान बुझेर सम्बन्धित मतदान केन्द्रहरुमा खटिने पनि उहाँले बताउनु भयो ।
निर्वाचन तयारीका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न गरी आयोग पूर्ण रूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी दिनुभयो । मतपत्र छपाइदेखि ढुवानीसम्मको जटिल व्यवस्थापकीय काम सम्पन्न भइसकेको र कर्मचारीहरू कार्यक्षेत्रमा खटिने क्रम शुरु भएको पनि उहाँले बताउनु भयो ।
हिमााली क्षेत्रमा अस्थायी मतदान केन्द्र निर्धारण गर्ने सन्दर्भमा आयोग निर्णयमा पुगि नसकेको उहाँले स्पष्ट पार्नुभयो । भौगोलिक विकटता र मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै आयोग मौसमको प्रतिकुलताको अध्ययन गरी मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्नबाट वञ्चित हुन नपर्ने गरी तत्काल निर्णय गर्नेगरी तयारी अवस्थामा रहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो ‘यदि त्यस्तो अवस्था आयो भने हामी जहाँ मतदाताहरू हुनुहुन्छ त्यहीँ गएर मत सङ्कलन गर्ने गरी आयोगले निर्णय गर्छ ।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनको मुखमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउने काम नगर्न आाग्रह गर्नुभएको छ । उहाँले निषेधको राजनीति नगर्न राजनीतिक दलहरुलाई चेतावनी समेत दिनुभयो ।






