काठमाडौं । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले कुनैपनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा निर्वाचन प्रचारप्रसार गर्न नपाउने स्पष्ट पार्नुभएको छ ।
केही स्थानीय तहका जनप्रतिनिधिहरूले दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भन्ने गुनासो प्राप्त भएको उल्लेख गर्दै उहाँले उक्त कार्य आचारसंहिता विपरित भएको बताउनुभएको हो ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उहाँले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो कार्यक्षेत्रभित्र कुनैपनि दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने व्यवस्था रहेको जानकारी दिनुभयो ।
उहाँकाअनुसार निर्वाचन आचारसंहिताको दफा ५ को (क) को देहाय ४ अनुसार स्थानीय तहका जनप्रतिनिधिले आफ्नो स्थानीय तहभित्र कुनैपनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी हुन नहुने स्पष्ट उल्लेख छ । सो व्यवस्थाविपरीत क्रियाकलाप नगर्न आयोगले जनप्रतिनिधिहरूलाई आग्रह गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले स्वीकृत गरेको कार्यतालिका बमोजिम फागुन ४ गतेदेखि १८ गते राति १२ बजेसम्म राजनीतिक दल र उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउने व्यवस्था छ ।
आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता कडाईका साथ पालना गर्न सबै पक्षलाई अनुरोध गरेको छ ।






