निर्वाचन मुलुकलाई लयमा फर्काउने कडी हो, कुनैपनि हालतमा रोकिँदैनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी


१० फाल्गुन २०८२, आईतवार १६:४९ मा प्रकाशित

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन मुलुकको सुशासन र संविधानको रक्षाका लागि निर्विकल्प रहेको बताउनुभएको छ । गोरखापत्र संस्थानद्वारा आयोजित ‘निर्वाचन समाचार अभिमुखीकरण’ कार्यक्रममा बोल्दै उहाँले निर्वाचनको मिति तोकिएपछि विभिन्न संशय र हल्ला फैलाइए पनि मतदान प्रक्रिया कुनैपनि हालतमा नरोकिने दृढता व्यक्त गर्नुभयो । निर्वाचनको विकल्प निर्वाचन नै भएको उहाँको भनाइ छ । केही कुण्ठित तत्वहरूले निर्वाचन रोकिन्छ कि भन्ने भ्रम फैलाउन खोजेको उहाँको आरोप छ । 
‘निर्वाचनको विकल्प निर्वाचन नै हो ।’ भण्डारीले भन्नुभयो, ‘केही कुण्ठित तत्वहरूले निर्वाचन रोकिन्छ कि भन्ने भ्रम फैलाउन खोजेका छन्, तर नेपाली जनता कसैको कुण्ठा पूर्ति गर्ने साक्षी बस्दैनन् । २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएरै छाड्छ ।’
सञ्चार जगत र आयोगः एउटै सिक्काका दुई पाटा
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन आयोग र सञ्चार जगतलाई एउटै सिक्काका दुई पाटाको रूपमा चित्रण गर्नुभयो । आयोगले निर्वाचनको व्यवस्थापकीय पाटो हेर्ने भएपनि निर्वाचनको माहोल सिर्जना गर्ने र मतदातालाई सुसूचित गर्ने मुख्य जिम्मेवारी सञ्चारकर्मीको रहेको उहाँको भनाइ थियो । 
उहाँले भन्नुभयो, ‘तपाईंहरूले सिर्जना गरिदिएको माहोल र मलजलका कारण नै आज निर्वाचनको वातावरण यो अवस्थासम्म आइपुगेको हो ।’
मत सर्वेक्षणमा प्रतिवन्ध र आचारसंहिता
भण्डारीले निर्वाचन आचारसंहिता र विशेषगरी ‘मत सर्वेक्षण’ नगर्न आग्रह गर्नुभयो । मतदान हुनुअघि गरिने मत सर्वेक्षणले मतदाताको मनस्थिति परिवर्तन गराई निर्वाचनको स्वच्छतामा असर पार्ने भएकाले यसलाई वर्जित गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
‘संविधानको अधिकारको नाममा निर्वाचनको निष्ठामाथि खेलबाड गर्न पाइँदैन’ उहाँले चेतावनी दिँदै भन्नुभयो, ‘मत सर्वेक्षणले हार्ने उम्मेदवारलाई जित्ने र जित्नेलाई हार्ने देखाएर मतदातामा भ्रम छर्नसक्छ, जुन समुच्च निर्वाचन प्रक्रियाकै लागि घातक हुन्छ ।’
युवा मतदाताको उत्साह र सुशासनको आशा
यस पटकको निर्वाचनमा ९ देखि १० लाख नयाँ मतदाता थपिनुलाई उहाँले सकारात्मक परिवर्तनको रूपमा लिनुपर्ने बताउनु भयो । थपिएका मतदातामा युवाहरूको बाहुल्यता रहेको र उनीहरू सुशासनको खोजीमा निर्वाचन प्रक्रियामा सहभागी हुन उत्सुक रहेको उहाँको विश्लेषण छ । 
‘युवाहरूको यो जोस र उत्साहले नेपालमा सुशासन प्रवाह गर्ने मार्ग प्रशस्त गर्नेछ ।’ उहाँले भन्नुभयो ।
पर्यवेक्षकमाथि ‘तेस्रो आँखा’ को निगरानी
निर्वाचन पर्यवेक्षणका लागि अनुमति लिएका स्वदेशी तथा विदेशी संस्थाहरूले आफ्नो सीमाभित्र रहेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । विगतमा केही संस्थाहरूले निश्चित मत चिन्हमा भोट हाल्न प्रचार गरेको तितो अनुभव सुनाउँदै उहाँले सञ्चारकर्मीहरूलाई पर्यवेक्षकका गतिविधिमाथि पनि ‘तेस्रो आँखा’ को रूपमा निगरानी राख्न आग्रह गर्नुभयो ।
मुलुकलाई लयमा फर्काउने कडी
राजनीतिक विद्रोह र प्रतिनिधि सभा विघटनपछिको जटिल परिस्थितिमा हुन लागेको यो निर्वाचनले मुलुकको भड्किएको अनुशासनलाई लयमा ल्याउने भण्डारीले विश्वास व्यक्त गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘यो शताब्दीकै पेचिलो निर्वाचन भएपनि हामीले यसलाई सरल बनाइसकेका छौँ । निर्वाचनपछि आउने प्रतिनिधिहरूले जनमतको कदर गर्दै मुलुकमा शान्ति र सुशासन कायम गर्नेछन् ।’
उहाँले निर्वाचन सम्पन्न गर्ने ‘पवित्र यज्ञ’ मा सबै सरोकारवाला, राजनीतिक दल, उम्मेदवार र मतदातालाई जिम्मेवार भएर प्रश्तुत हुन र शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गर्न सहयोग गर्न अपिल गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here