चैत १ गतेभित्र नयाँ संसद भवन हस्तान्तरण गर्न मन्त्री इङनामको निर्देशन


८ फाल्गुन २०८२, शुक्रबार १४:१६ मा प्रकाशित


काठमाडौं ।
 भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङनामले निर्माणाधीन नयाँ संघीय संसद भवनको काम चैत १ गतेभित्र सम्पन्न गरी हस्तान्तरण गर्न निर्देशन दिनुभएको छ । 


भवन निर्माणको पछिल्लो अवस्थाबारे स्थलगत अनुगमन गरेपछि मन्त्री इङनामले निर्धारित समयमै काम सक्न निर्माण पक्षलाई निर्देशन दिनुभएको हो । अनुगमनका क्रममा मन्त्री इङनामले कामको गतिप्रति केही असन्तुष्टि व्यक्त गर्दै चैत १ गतेभित्र प्रतिनिधि सभा, राष्ट्रिय सभा, सेन्ट्रल लबी र सचिवालयका भवनहरू जसरी पनि हस्तान्तरण गर्नुपर्ने बताउनु भयो ।

भवनको सिभिलतर्फको काम मोटामोटी सकिए पनि फिनिसिङको काममा ढिलाइ भएको पाइएपछि मन्त्रीले दक्ष जनशक्ति थप्न निर्देशन दिनुभएको छ । मन्त्रीको निर्देशनपछि निर्माण कम्पनीले बारा र रौतहटबाट थप कामदार मगाएर कामलाई तिब्रता दिएको जानकारी गराइएको छ ।

निर्माणका क्रममा केही प्राविधिक चुनौतीहरू पनि देखिएका मन्त्री इङनामको भनाइ छ । चीनबाट ल्याउनुपर्ने केही सामानहरू क्रिसमस र अन्य बिदाका कारण ढिलो भएको ठेकेदारको भनाइ छ । ती सामानहरू फागुन २५ गतेसम्म आइपुग्ने र जडान गरिने आश्वासन निर्माण पक्षले दिएको छ ।

भारतबाट ल्याउनुपर्ने ३० मिटर लामो इलेक्ट्रोनिक प्यानल र ४ मेगावाटको विद्युतीय प्रणाली जडानको काम पनि बाँकी रहेको छ । वीरगञ्ज भन्सारमा रोकिएका सामानहरू आउने क्रम शुरु भइसकेकाले चैतको शुरुवातमै भवन पूर्ण रूपमा तयार हुने मन्त्रीले विश्वास व्यक्त गर्नुभयो । 

चैत १ गतेदेखि विशेष गरी सेन्ट्रल लबी, प्रतिनिधि सभा र क्यान्टिनसहित सांसदहरुको  कार्यकक्षहरू हस्तान्तरण हुनेमा आफू आशावादी रहेको मन्त्रीले बताउनु भयो । नयाँ भवन हस्तान्तरण भएपछि संघीय संसदका बैठकहरू आफ्नै अत्याधुनिक भवनमा सञ्चालन हुने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here