राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाको नेतृत्वमा सरकार बनेपछि भ्रष्टाचारमा संलग्न व्यक्तिहरूको महलमा दोजर चल्ने बताउनुभएको छ ।
कर्णालीमा बिहीवार आयोजित वाचापत्र सार्वजानिक कार्यक्रमा उहाँले रास्वपा सरकार आएमा गरिब बस्तीको उठीवास लगाउने र डोजर चलाउने भन्दै जनतालाई तर्साउने प्रयास भइरहेको आरोप लगाउनु भयो । उहाँले डोजर चलेमा सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्ने भन्दै गरिबको बस्तीले चिन्ता गर्न नपर्ने बताउनु भयो ।
सभापति लामिछानेले रास्वपाले कसैलाई बेघरबार बनाउने काम नगर्ने दाबी गर्नुभयो । विस्थापित नगरी व्यवस्थापन गर्ने नीति लिने उहाँको भनाई छ । भूमिहीन समस्याको समाधान गर्न शक्तिशाली र स्वतन्त्र आयोग गठन गर्ने उहाँले बताउनु भयो । उहाँकाअनुसार आयोगमा पार्टीका कारिन्दा नभई स्वतन्त्र मानिसहरू हुनेछन् ।
आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने उहाँले बताउनु भयो । कानूनले अन्याय गरेको महशुस भएमा संसदबाट संशोधन गरेर भएपनि अधिकार दिलाउने उहाँले प्रतिवद्धता जनाउनु भयो । उहाँले रास्वपा प्रश्नहरूको सामना गर्न डराएको आरोपको खण्डन गर्दै जनताका प्रश्नको जवाफ घरदैलोमै दिएको जिकिर गर्नुभयो ।
उहाँले प्रश्न सोध्ने ठेक्का पनि जनताले नै लिने भएकोले कसैले लिनु नपर्ने बताउनु भयो । उहाँकाअनुसार जनताले घरघरमा प्रश्न सोधेका छन्, रास्वपाका उम्मेद्वारले उत्तर दिएका छन् । उहाँले अब केवल जवाफ दिने नभई समाधान दिने समय आएको उहाँको भनाई छ ।
पाँच वर्षे स्थायी सरकारमार्फत विधिको शासन, कानूनी राज्य र सुशासन स्थापना गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो । रास्वपा विधि र लोकतान्त्रिक मूल्य–मान्यतामा अडिग रहने उहाँको भनाई छ ।
उहाँले रास्वपाको पराराष्ट्र नितिप्रति पनि कसैले चिन्ता लिईराख्न जरुरी नभएको बताउनु भयो । रास्वपाले असंलग्न परराष्ट्रनीतिअनुसार सबै देशसँग समान व्यवहार गरी सम्बन्ध विस्तार गर्ने उल्लेख गर्नुभयो ।






