‘भदौ २३ को घटना संविधान र व्यवस्थामाथिको धावा हो’: केपी शर्मा ओली


७ फाल्गुन २०८२, बिहीबार १४:०९ मा प्रकाशित


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाहरूलाई नेपालको संविधान, व्यवस्था र सार्वभौमसत्ता विरुद्धको योजनावद्ध आक्रमण भएको बताउनुभएको छ । 


आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले देश हाल विवेक र आवेगको दोबाटोमा उभिएको चर्चा गर्दै भत्काउने र बनाउने दुई सोच बीच द्वन्द्व भइरहेको उल्लेख गर्नुभयो ।

उहाँले भदौ २३ को प्रदर्शनमा घुसपैठ भएको र शान्तिपूर्ण रूपमा घर फर्कन लागेका युवाहरूलाई नियोजित रूपमा निषेधित क्षेत्रतर्फ धकेलिएको आरोप लगाउनु भयो । राजनीतिक अस्थिरतालाई देश विकासको मुख्य बाधकका रूपमा चित्रण गर्दै ओलीले ठूला दलहरू मिल्नु संकटको कारण नभई अस्थिरता रोक्ने प्रयास भएको स्पष्ट पार्नुभयो ।

उहाँले संवैधानिक प्रक्रियाबाट स्थिर सरकार ढाल्न नसकेपछि सडकबाट प्रणालीमाथि नै प्रहार गर्ने उद्देश्यले ती घटनाहरू गराइएको दाबी गर्नुभयो । अध्यक्ष ओलीले एमालेसँग मात्र विकास, सुशासन र निर्माणको स्पष्ट ट्रयाक रेकर्ड रहेको दाबी गर्दै ध्वस्त भएका संरचनाको पुनः निर्माण र जनताको खस्किएको मनोबल उकास्ने जिम्मेवारी अब एमालेको काँधमा रहेको जिकिर गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here