भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त गर्न राप्रपाको विकल्प छैनः कमल थापा


२९ पुष २०८२, मंगलवार १५:२२ मा प्रकाशित


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त गर्न राप्रपाको विकल्प नभएको बताउनुभएको छ । 


मंगलवार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त बनाउने विचार र एजेण्डा बोकेर राप्रपा अघि बढिरहेको बताउनु भयो । अहिलेको देशको संकटको मुख्य कारण संघीय धर्मनिरपेक्ष गणतन्त्र भएको बताउनु भयो ।

संघीय धर्मनिरपेक्ष गणतन्त्रलाई परिवर्तन नगरेसम्म देशलाई संकटबाट मुक्त तुल्याउन नसकिने जिकिर गर्नुभयो । उहाँले सर्वधर्म, समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र संघीयता होइन, केन्द्र र स्थानीय गरी दुई तहको शासन व्यवस्था रहने शासन प्रणाली कायम गरिनुपर्ने माग गर्नुभयो । 

पूर्वअध्यक्ष थापाले राप्रपाको नेतृत्वमा सरकार बन्नसक्ने गरी सरकार बन्नेगरी मतदान गरेर जिताउन आह्वान गर्नुभयो । मुलुकको धरातलीय यथार्थलाई हृदयंगम गर्दै राप्रपाको नेतृत्वमा सरकार बन्नसक्ने बहुमत दिन आग्रह गर्नुभयो । भ्रष्टाचार अन्त्य गरी सुशासनको माध्यमबाट सबल र समृद्ध नेपाल निर्माण गर्ने जिकिर गर्नुभयो । राप्रपाले निर्वाचन जिते हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here