अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भेनेजुएलाको शासन सञ्चालन गर्ने घोषणा; राष्ट्रपति मादुरो र उनकी पत्नी पक्राउ


२० पुष २०८२, आईतवार १०:५९ मा प्रकाशित


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि अमेरिकाले भेनेजुएलाको शासन सञ्चालन गर्ने र तेल स्रोतहरूको व्यवस्थापन गर्ने घोषणा गर्नुभएको छ । यस सैन्य हस्तक्षेपको विश्वव्यापी रूपमा र संयुक्त राष्ट्र संघद्वारा अन्तर्राष्ट्रिय कानुनको उल्लंघनको रूपमा आलोचना भइरहेको छ ।

अमेरिकी सैन्य छापा र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी पत्नीको गिरफ्तारीपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शनिवार संयुक्त राज्य अमेरिकाले भेनेजुएला चलाउने बताउनु भयो ।

फ्लोरिडाको आफ्नो मार–ए–लागो निजी क्लबमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले आफूहरुले सुरक्षित, उचित र संक्रमण कालीन अवस्थासम्मका लागि देश चलाउने बताउनु भयो । विदेशमन्त्री मार्को रुबियो र रक्षामन्त्री पीट हेगसेथ लगायतका शिर्ष अमेरिकी अधिकारीहरूले भेनेजुएला चलाउन मद्दत गर्न एक टोलीसँग मिलेर काम गर्ने बताउनु भयो ।

ट्रम्पले थप अमेरिकी सैन्य संलग्नताको सम्भावनालाई नकार्न अस्वीकार गर्नुभयो । आफूहरु प्रत्यक्ष सैन्य उपस्थितिका लागि नडराउने उहाँको भनाइ छ । जोइन्ट चिफ अफ स्टाफका अध्यक्ष ड्यान केनले पत्रकार सम्मेलनमा भेनेजुएलामा ठूलो मात्रामा आक्रमण र मादुरोलाई पक्राउ गरेपछि अमेरिकी सेना त्यस क्षेत्रमा रहने बताउनु भयो । संक्रमणकालमा भेनेजुएलामा अमेरिकी सैन्य उपस्थितिको सम्भावनाको बारेमा सोधिएको प्रश्नमा ट्रम्पले आफूहरु तेलसँग सम्बन्धित विषयमा भेनेजुएलामा उपस्थित हुने बताउनु भयो । 


ट्रम्पले अमेरिकी तेल कम्पनीहरूलाई भेनेजुएलाको ऊर्जा पूर्वाधार कब्जा गर्न र लगानी गर्न अनुमति दिने र देशका लागि पैसा कमाउन शुरु गर्ने योजना बनाएको बताउनु भयो । ट्रम्पले आफूहरुले जमिनबाट ठूलो मात्रामा सम्पती निकाल्ने र त्यो सम्पती भेनेजुएलाका जनता र भेनेजुएलामा बस्ने गरेका बाहिरका मानिसहरूमा जाने बताउनु भयो । 


मादुरोलाई हिरासतमा लिएर र महिनौंको सैन्य दबाब अभियान शुरु गरेर ट्रम्पले आफ्नो प्रशासनले १९औं शताब्दीको सुरुमा ल्याइएको मोनरो डक्ट्रिनलाई अतिक्रमण गरेको बताउनु भयो । भेनेजुएलामा हालैका अमेरिकी आक्रमण र मादुरोको गिरफ्तारीले विश्वव्यापी निन्दा र चिन्ता पैदा गरेको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here