मोरङ । मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयमा करिव चार करोड रुपैयाँको लागतमा नयाँ विद्यालय भवन निर्माण हुने भएको छ ।
नेपाली काँग्रेसका नेता डा. सुनिलकुमार शर्माले आफ्ना बाबुआमाको नाममा उक्त भवन निर्माण गरिदिने घोषणा गर्नुभएको हो । विद्यालय भवनको शिलान्यास गर्दै डा. शर्माले १० कोठे अत्याधुनिक भवनमा कम्प्युटर ल्याव र शौचालयसहित करिव ६ हजार ४ सय वर्गफुट क्षेत्रफलमा निर्माण हुने बताउनु भयो ।
विद्यालय भवनको शिलान्याससँगै विद्यालयको नाम पनि परिवर्तन गरी श्री जनता लोकनाथ–होमादेवी माध्यमिक विद्यालय राखिएको छ । रतुवामाई नगरपालिकाको आधारभुत तथा माध्यमिक शिक्षा ऐन, २०७२ (तेस्रो संशोधनसहित) अनुसार सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरेर विद्यालयको नाम परिवर्तन गरिएको हो ।
डा. शर्माले काठमाडौं मेडिकल कलेजअन्तर्गत एमबीबीएस, बीडीएसलगायत उपलब्ध सबै विषयमा पीएचडीसम्म अध्ययन गर्न सकिने गरी थप एक करोड रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा समेत गर्नुभएको छ ।
छात्रवृत्तिमध्ये ५० लाख रुपैयाँ विद्यालयलाई जग्गा दान गर्ने स्वर्गीय नरेन्द्रबहादुर थापाको नाममा, २५ लाख रुपैयाँ डा. शर्माका हजुरबुवा स्वर्गीय गुणलाल न्यौपाने नाममा र २५ लाख रुपैयाँ जिजुबा. गणपति न्यौपानेको नाममा स्थापना गर्ने उहाँले घोषणा गर्नुभयो । डा. शर्माले आफूले अध्ययन गरेको विद्यालयमा लगानी गर्नु नै विद्यालयप्रतिको ऋण तिर्ने प्रयास भएको बताउनु भयो ।
रतुवामाई नगरपालिकाका नगरप्रमुख नागेश्वर सिंह, कोशी प्रदेशसभा सदस्य गणेश उप्रेतीले डा. शर्माको योगदानको प्रशंसा गर्दै यस्तो निःस्वार्थ सहयोगले ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको भविष्य उज्यालो बनाउने विश्वास व्यक्त गर्नुभयो ।






