काठमाडौं । औषधि व्यवसायीहरुले आफूहरुको माग सुनुवाई नगरेको भन्दै सरकारको आलोचना गरेका छन् ।
सोमवार पनि काठमाडौंको नयाँबानेश्वरस्थित औषधि व्यवस्था विभागको कार्यालयमा धर्ना दिन पुगेका उनीहरुले आफूहरुको माग सुनुवाई नगरेको र धर्नामा बस्न पनि नदिने गरी प्रहरी परिचालन गरिएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम र गृहमन्त्री ओमप्रकाश अर्यालको आलोचना गरेका हुन् ।
सरकारले आफूहरुको मागको सुनुवाई गर्नुको साटो शान्तिपूर्ण रुपमा धर्नामा बस्ने अधिकार समेत हनन गरेको भन्दै औषधि व्यवसायी गोपालराज पाण्डेले आपत्ति जनाउनु भयो । उहाँले आफूहरुको माग तत्काल सुनुवाई नगरे सबै व्यवसाय बन्द गरेर सडक संघर्षमा आउन बाध्य हुने चेतावनी समेत दिनुभयो ।
औषधि व्यवसायीहरुले व्यवसायिक नविकरण ढिला भएमा स्वतः व्यवसाय रद्ध हुने लगायतका प्रावधान हटाउन सरकारसँग माग गर्दै सो विभागको कार्यालयमा दैनिक धर्ना दिँदै आएका छन् । व्यवसायी पाण्डेले सरकारले आफूहरुको माग सम्बोधन गर्नुको सट्टा शान्तिपूर्ण रुपमा धर्नामा बस्न पनि नदिने गरी प्रहरी परिचालन गरेकाले प्रतिवादमा उत्रनुपर्ने अवस्था आएको बताउनु भयो ।






