काठमाडौं । सभामुख देवराज घिमिरेले सिंहदरबारभित्र निर्माणाधिन संघीय संसद भवनलाई समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
बिहीवार राष्ट्रिय सभाअध्यक्षसहित निर्माणाधिन भवन निरीक्षणमा पुग्नुभएका सभामुख घिमिरेले यस्तो निर्देशन दिनुभएको हो । उहाँले निर्माण कार्यको गति थप बढाउन समेत निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।
उहाँले निर्माण कम्पनीले हाल ३५० जनाको श्रमशक्ति प्रयोग भइरहेको जानकारी दिएको उल्लेख गर्दै सोहीअनुसार अगामी चैत १५ सम्म निर्माण सम्पन्न गर्नेगरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
निर्माणाधिन उक्त भवनको २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । तीन वर्षमा निर्माण सक्ने लक्ष्यअनुसार काम सुरु गरेपनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद र लगानी थप गरिँदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण हुँदैछन् ।






